बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • लेबनानमा पेजरहरु बिस्फोट हुँदा ११ जनाको मृत्यु, ४ हजार बढी घाइते


    हुलाक प्रेस

    • बुधबार, असोज २ २०८११०:१८
    लेबनानमा पेजरहरु बिस्फोट हुँदा ११ जनाको मृत्यु, ४ हजार बढी घाइते

    एजेन्सी । स्थानीय समय अनुसार मंगलबार हिजबुल्लाह सशस्त्र समूहले प्रयोग गर्ने ‘इलेक्ट्रोनिक पेजरहरु’ एकसाथ विष्फोट हुँदा लेबनानमा हजारौं मानिसहरु घाइते भएका छन् ।

    यो विष्फोटमा ११ जनाको मृत्यु भएको छ भने ४०० गम्भीर घाइते भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यामले जनाएका छन्। हिजबुलाहले इजरायलले रणनीतिक रुपमा गरेको अभूतपूर्व आक्रमण भनेको छ।

    सम्भवतः ती उपकरणहरू वितरण हुनु अघि नै तिनलाई गडबडी गरिएको हुनसक्ने बताएको छ। ‘जो कोहीले नयाँ पेजर प्राप्त गरेका छन्, त्यसलाई फाल्नुहोस्,’ हिजबुल्लाह सदस्यहरूलाई पठाइएको भ्वाइस सन्देशमा भनिएको छ।

    यो आक्रमण गाजामा चलिरहेको युद्धसँग जोडिएको इजरायल र हिजबुल्लाहबीचको लगभग एक वर्ष लामो द्वन्द्वको पछिल्लो प्रहार भएको दाबी गरिएको छ। यसले लेबनानमा अहिलेसम्मकै सबैभन्दा ठूलो जनधनको क्षति भएको घटना निम्त्याएको मानिन्छ। जसमा देशको स्वास्थ्य प्रणाली संकटमा परेको छ।

    स्वास्थ्यमन्त्री फिरास अबियादका अनुसार, देशभर कम्तीमा ४००० मानिसहरू घाइते भएका छन्, जसमा धेरैलाई अनुहार, हात वा पेटमा चोटपटक लागेको छ। कम्तीमा ११ जनाको मृत्यु भएको छ।

    हिजबुल्लाहले विस्फोटको लागि इजरायललाई जिम्मेवार मान्दै बदला लिने घोषणा गरेको छ। इजरायली सेनाले भने यो आक्रमणमा आफ्नो संलग्नता नरहेको जनाएको छ।

    स्वास्थ्य अधिकारीहरूले अस्पतालहरूमा कोलाहल भएको बताएका छन्, जहाँ एम्बुलेन्सहरू आक्रामक रूपमा आइरहेका थिए र घाइतेहरु यत्रतत्र राखेर उपचारहरु सुरु गरिएको थियो। राजधानी वेरुत, दक्षिणी लेबनानका इजरायलसँग सिमानासँगैका सहरहरू, टायरको तटीय सहर, र देशको उत्तरी भागमा पनि मानिसहरू घाइते भएका थिए।

    घाइतेहरूमा बालबालिका र वृद्ध व्यक्तिहरू पनि थिए। स्वास्थ्य मन्त्रालयले अस्पतालहरूलाई ‘अधिकतम सतर्कता’ मा राखेको बताएको छ र वायरलेस सञ्चार उपकरण भएका सबै नागरिकहरूलाई ती उपकरणबाट टाढा रहन अनुरोध गरेको छ।

    स्वास्थ्यकर्मीहरूलाई आकस्मिक उपचारको लागि आफ्नो काममा फर्कन निर्देशन दिइएको छ भने रगत दान गर्न अपिल गरिएको छ। संयुक्त राष्ट्र संघको सुरक्षा व्यवस्थापन प्रणालीले लेबनानमा रहेका आफ्ना कर्मचारीहरूलाई भिएचएफ उपकरणहरू बन्द गर्न र ब्याट्रीहरू हटाउन सल्लाह दिएको छ,

    जसका कारण यो संस्थाको रेडियो नेटवर्क अस्थायी रूपमा अवरुद्ध भएको छ।

    के हो पेजर?

    श्रृंखलाबद्ध रुपमा विस्फोट भएका पेजरहरु एक वायरलेस डिभाइस हो, जसको प्रयोग सन्देश आदानप्रदानका लागि हुन्छ। यो सामान्य रुमपा छोटो स्क्रिनका साथमा उपलब्ध हुन्छ।

    यसको मद्दतमा सन्देश या चेतावनीहरु चाँडो प्राप्त गर्न सकिन्छ। मोबाइलको प्रयोग अघि यसको प्रयोग ब्यापक रुपमा हुने गर्थ्यो।

    तर अहिले कम हुँदै गएको मानिन्छ। यद्यपि लेबनानमा अहिले पनि यसको प्रयोग उच्च छ।


    प्रतिक्रिया दिनुहोस