सोमबार, कात्तिक ३ गते २०८३
  • यो साता चर्चामा :
  • वर्षाले विभिन्न जलविद्युत् आयोजनामा क्षति, माग धान्न ३०० मेगावाट विद्युत् भारतबाट आयात


    हुलाक प्रेस

    • शनिबार, असोज १२ २०८१११:२१
    वर्षाले विभिन्न जलविद्युत् आयोजनामा क्षति, माग धान्न ३०० मेगावाट विद्युत् भारतबाट आयात

    काठमाडौँ । अविरल वर्षाका कारण विभिन्न जलविद्युत् आयोजना र प्रसारण लाइनमा क्षति पुगेको छ ।

    विगत तीन दिनदेखि देशभर परेको वर्षाले चार सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना, २२ मेगावाटको माण्डु जलविद्युत् आयोजना, २२ दशमलव एक मेगावाटको हेवाखोला जलविद्युत् आयोजनामा हेडबक्स र पावरहाउसमा क्षति पुगेको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले जानकारी दिए ।

    यस्तै, रसुवामा निर्माणाधीन दुई सय १६ मेगावाटको माथिल्लो त्रिशूली दुई जलविद्युत् आयोजनाको भौतिक संरचना र उपकरणमा क्षति पुगेको छ । प्रवक्ता घोषका अनुसार अपर तामाकोशी जलविद्युत् आयोजनामा कार्यरत पाँच जना सम्पर्कविहीन छन् ।

    यस्तै, खिम्ती लामोसाँघु प्रसारण लाइनमा क्षति पुगेको छ। उक्त प्रसारण लाइनको ७ नम्बर टावर बाढीले बगाउँदा काठमाडौँ आउने विद्युत् लाइन अवरुद्ध भएको प्राधिकरणले जनाएको छ । यसैगरी दमकदेखि गोदकसम्मको प्रसारण लाइनमा समेत क्षति पुगेको छ। उक्त प्रसारण लाइनअन्तर्गतको ५१ नम्बर टावर बाढीले बगाएको हो ।

    बाढीले सोलु करिडोर, कोशी कोरिडोरको प्रसारण लाइनमा समेत क्षति पुगेको प्रवक्ता घोषले बताए। नेपालमा उत्पादित विद्युतगृहहरूमा बाढीपहिरोले क्षति पुगेपछि भारतबाट थप तीन सय मेगावाट विद्युत् आयात गरिएको प्राधिकरणले जनाएको छ ।

    अधिकांश विद्युत् कम्पनीहरूले बाढी बढ्न थालेपछि विद्युतगृहमा कार्यरत कर्मचारीलाई सुरक्षित स्थानमा सारेका छन् ।

    नेपालमा तीन हजार मेगावाट हाराहारीमा विद्युत् उत्पादन हुँदै आएकोमा बाढीपहिरोले क्षति पुगेपछि अहिले एक हजार ३०० मेगावाट मात्र विद्युत् उत्पादन भइरहेको विद्युत् प्राधिकरणले जनाएको छ ।


    प्रतिक्रिया दिनुहोस