आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • २०२६ को लागि रातिदेखि खुल्दै डीभी, कसरी भर्ने?


    हुलाक प्रेस

    • बुधबार, असोज १६ २०८१०६:१८
    २०२६ को लागि रातिदेखि खुल्दै डीभी, कसरी भर्ने?

    काठमाडौं । अमेरिकाको २०२६ डाइभर्सिटी भिसा कार्यक्रममा आज राति ९ः४५ बजे आवेदन खुल्ने भएको छ। 

    नेपालस्थित अमेरिकी राजदूतावासले डीभी भिसा आज रातिदेखि खुल्ने जानकारी दिएको हो। 

    दूतावासका अनुसार डीभी कार्यक्रमको लागि हुने छनोट योग्य आवेदकमध्ये निष्पक्ष रुपमा गरिन्छ। एक जनाले एक मात्र आवेदन बुझाउन दूतावासले अनुरोध गरेको छ। 

    आज खुल्ने डीभी कार्यक्रममा आगामी नोभेम्बर ५ अर्थात् आगामी कात्तिक २० गते राति १०ः४५ बजेसम्म आवेदन दिन सकिनेछ। 

    डीभी भर्दा पैसा पनि लाग्दैन र अनलाइनबाट सहजै भर्न सकिन्छ। यसपटक डीभी भिसा कोटा ५५ हजार रहेको छ। 


    कसरी भर्ने? 
    डीभी कार्यक्रममा भाग लिनेले अनलाइनबाट नै आवश्यक प्रक्रिया गर्नुपर्नेछ। त्यसका लागि इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ई–डीभी) वेबसाइटमा आवेदन दिनुपर्नेछ। एक जनाले एक मात्र आवेदन दिन सक्नेछन्। 

    एकै जनाबाट धेरै आवेदन भरे नभरेको अमेरिकी डिपार्टमेन्ट अफ स्टेटको प्रविधिले नै पत्ता लगाउने र त्यसरी धेरैपटक भर्नेलाई स्वतः यो प्रक्रियाबाट रद्द गरिदिन्छ। 

    डीभी भर्दा नाम, लिंग, जन्ममिति, जन्मस्थान, डीभीका लागि योग्य देश, तस्बिर, ठेगाना, हाल बसिरहेको स्थान, फोन नम्बर, इमेल, शैक्षिक योग्यता, वैवाहिक स्थितिलगायतका व्यक्तिगत विवरण सबै खुलाउनुपर्नेछ। 

    यी देशबाट पाइनेछैन डीभी भर्न 
    २०२६ को डीभी कार्यक्रममा १९ देशका नागरिकले सहभागी हुन पाउनेछैनन्। तिनमा बंगलादेश, ब्राजिल, क्यानडा, चीन (हङकङमा जन्मेका समेत), कोलम्बिया, क्युबा, डमिनिकन रिपब्लिक, एल साल्भाडोर, हैटी, होन्डुरस, भारत, जमैका, मेक्सिको, नाइजेरिया, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, भेनेजुएला, भियतनामका नागरिकले डिभी कार्यक्रममा सहभागी हुन नपाउने बताइएको छ। मकाउ एसएआर र ताइवानका नागरिकलाई योग्य तोकिएको छ। 

    उक्त नपाउने देशका नागरिकको संख्या विगत ५ वर्षमा अमेरिकामा ५० हजार बढी पुगिसकेकाले नपाउने बताइएको छ। 

    डिभी कार्यक्रममा जुन देशका मानिस निकै कम मात्रामा अमेरिकामा बसाइँ सरेका छन् उनीहरुलाई मुख्य प्राथमिकता अमेरिकाले दिएको छ। त्यसबाहेक उच्च शिक्षा वा सो बराबरको शैक्षिक स्तर भएकाले मात्र डीभी कार्यक्रममा भाग लिन पाउँछन्। 


    प्रतिक्रिया दिनुहोस