आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • बार अध्यक्षविरुद्ध अवहेलनाको मुद्दा दर्ता गरेका उपरजिस्ट्रारले भने, ‘कसैको प्यादा बन्न सक्दिनँ’


    हुलाक प्रेस

    • बिहीबार , असोज १७ २०८१०९:२८
    बार अध्यक्षविरुद्ध अवहेलनाको मुद्दा दर्ता गरेका उपरजिस्ट्रारले भने, ‘कसैको प्यादा बन्न सक्दिनँ’

    काठमाडौं । नेपाल बार एशाेसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध अवहेलना मुद्दा दर्ता गर्ने सर्वोच्च अदालतका उपरजिस्ट्रार गोविन्द्रप्रसाद घिमिरेले पश्चाताप ब्यक्त गरेका छन् ।

    सोमबार आफैले प्रतिवेदन उठाएर दुई पृष्ठको अवहेलना मुद्दा दर्ता गरेका घिमिरेले मध्यरातमा आफू दुरुपयोग भएको पत्रकारहरू समक्ष बताएका हुन् ।

    उनले आफू कसैको प्यादा बन्न नसक्ने बताउँदै निवेदन फिर्ताका लागि औपचारिक निवेदन दिने बताएका छन् । आफ्नो परिवार सबै प्रजातन्त्रको पक्षमा लडेको र जनताको आवाजको रुपमा रहेको नेपाल बारको विपक्षमा उभिन नसक्ने उनले जनाएका छन् ।

    ‘म हिजोदेखि निदाउन सकेको छैन । जीवनभर प्रजातन्त्रको पछि लागियो। बा सधैं यसकै लडाई लड्नुभयो । बार जनताको आवाज हो लोकतन्त्रको हिमायती हो । त्यसको नेतृत्वविरुद्ध मैले अवहेलनामा दिएको प्रतिवेदन फिर्ता लिएको जानकारी गराउछु’ उनले भनेका छन्,’अदालत खुला हुँदा आफ्ना भनाईसहित औपचारिक निवेदन दिनेछु। म कसैको प्यादा बन्न चाहिनँ ।’

    न्याय परिषद् नियमावलीको संशोधनविरुद्ध बारले निरन्तर आन्दोलन गर्दै आएको छ । गत शुक्रबार बारको विरोधका बाबजुद न्यायपरिषद्का दुई जना न्यायाधीश सिफारिस गरेपछि बारका अध्यक्ष घिमिरेले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठविरुद्ध अभिव्यक्ति दिएका थिए । प्रधानन्यायाधीश श्रेष्ठकै दबाबमा अवहेलना मुद्दा दर्ता भएको थियो ।

    घिमिरेलेले न्याय परिषद् नियावली संशोधनका विषयमा उठेको विवाद निरुपण नगरी एकलौटी रुपमा न्यायाधीश सिफारिस गर्नु आपत्तिजनक भएको उनले जनाएका थिए । साथै, त्यसमा परिषद् अध्यक्षसमेत रहेका प्रधानन्यायाधीश श्रेष्ठको अनुचित स्वार्थ रहेको घिमिरेको आरोप थियो ।

    ‘अहिलेको बार गैरसंवैधानिक काममा कम्प्रमाइज गर्दैन । गैरन्यायिक काममा कम्प्रमाइज गर्दैन । आज मैले जति बोलेको छु नि प्रधानन्यायाधीशको खिलाफमा। सक्नुहुन्छ भने प्रधानन्यायाधीशज्यू, मलाई थुन्न मिल्छ तपाईंले थुन्नुस्,’ उनले भनेका थिए, ‘मलाई थुनेर तपाईंले गरेको गैरन्यायिक र गैरसंवैधानिक काम संवैधानिक हुन्छ भने थुन्नुस्। मेरो चुनौती हो । मैले त तपाईंलाई लेनदेनको आधारमा न्यायाधीश नियुक्ति गर्नुभयो भनेर भनिसकें । मैले त तपाईंलाई यो आफूले लिएको हिसाबकिताब मिलानका लागि न्यायाधीश नियुक्ति गर्नुभयो भनेर भनिसकें । सक्नुहुन्छ थुन्न भने थुन्नुस् ।’


    प्रतिक्रिया दिनुहोस