आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • मिथिला क्षेत्रमा सुरु भयो दुर्गा भवानीको मूर्ति पूजा


    हुलाक प्रेस

    • बिहीबार , असोज २४ २०८१०८:१२
    मिथिला क्षेत्रमा सुरु भयो दुर्गा भवानीको मूर्ति पूजा

    जलेश्वर । प्रत्येक वर्ष झैँ यसवर्ष पनि दसैँको सप्तमी तिथिको पूजा गर्दै महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रमा आजदेखि दुर्गा भवानीको मूर्ति पूजा सुरु भएको छ ।

    दसैँको आगमनसँगै मिथिलाञ्चलको विभिन्न गाउँ सहरमा बनाइएका दुर्गा भवानीको मूर्ति सप्तमी तिथिमा पूजा गर्दै अनावरण गरिएको जलेश्वर नगरपालिका–२ का दुर्गा मूर्ति पूजारी ललित झाले बताए ।   

    यसवर्ष महोत्तरी सदरमुकाम जलेश्वरसहित बर्दिबास, गौशाला, औरही, मटिहानी, पिपरा, बलवा, मनरा, सम्सी, बथनाहा, र गाउँगाउँमा दुर्गा भवानीको भव्य मूर्ति, आकर्षक मन्दिर र पंडालहरु बनाएर धुमधामका साथ पूजा अर्चना  सुरु गरिएको छ । 

    जिल्ला सदरमुकाम जलेश्वरमा दसैँलाई मध्यनजर गर्दै शंकर चोक, दूर्गा चोक, राजदेवी मन्दिर, संसारी मन्दिर, बौधीमाई मन्दिर, गढीमाई मन्दिरलाई विशेष किसिमले सजाइएको छ । 

    जलेश्वरको दुर्गा चोकमा हुने दुर्गा पूजा समितिका अध्यक्ष शिवचन्द्र चौधरीले हरेक वर्षझैँ यस वर्ष पनि पूजालाई व्यवस्थित रुपमा सम्पन्न गर्न विभिन्न उपसमितिहरु गठन गरिएको जानकारी दिए । 

    जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनारले आफ्नै नेतृत्वमा नगरभरि सरसफाई गरिएको बताए । तन, मन, धनले दुर्गा भवानीको पूजा आराधना गरेमा मनको इच्छा पूरा हुनुका साथै दुःख, कष्ट दूर हुने जनविश्वास छ । 

    भारतीय सीमासँग जोडिएको मटिहानी नगरपालिकामा भारतीय संस्कृतिअनुसार दुर्गा पूजाको अन्तिम दिन (दसैँको दिन) ५० फिटभन्दा अग्लो रावणको पुतला दहन गर्ने गरिन्छ । उक्त रावणको पुतला दहन हेर्न नेपाल र भारतीय सीमाक्षेत्रका गाउँबाट हजारौँ दर्शक आउने गर्दछन् । रासस


    प्रतिक्रिया दिनुहोस