आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • दशहरा मेलामा रावण बध गरिँदै


    हुलाक प्रेस

    • शनिबार, असोज २६ २०८१०५:४३
    दशहरा मेलामा रावण बध गरिँदै

    बाँके । नेपालगन्जको रामलीला मैदानमा विजयादशमीको घटनास्थापनादेखि सुरु रामलीला महोत्सवको शनिबार १०औँ दिन विशेष रावण बध गर्न लागिएको छ ।

    रामलीला नाटक प्रदर्शनीमा आज ५५ फिटको रावणको पुतला दहन गरिँदै छ । यो वर्ष आयोजना गरिएको १५७औँ रामलीला महामहोत्सवमा शनिबार कुम्भकर्ण, मेघनाथ र रावण बध गरिने कार्यक्रम रहेको रामलीला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कानोडियाले बताए ।

    साँझ रावणको बधपछि राति १० बजेदेखि रातभरि रामलीला मञ्चन गरिनेछ । समितिका अध्यक्ष कानोडियाका अनुसार, भारतको मधुरा बृन्द्रावनको राधारमण मण्डलबाट २५ कलाकारको समूहले विभिन्न सजावटका साथ रामलीला मञ्चन गर्नेछ । आइतबार (भोलि) भरत मिलाप तथा शुभराज्यभिषेक गरेर रामलीला सकाइनेछ ।

    रामलीला मैदानमा आजकै दिन लाग्ने दशहरा मेला हेर्न जिल्लाका विभिन्न ग्रामीण क्षेत्र तथा छिमेकी मुलुक भारतबाट सर्वसाधारण आउने गर्छन् । दशहरा मेला लाग्ने स्थल वरपर विभिन्न स्टल समेत राखिएको छ । महोत्सव आसपासका सडकहरू झिलिमिली पारिएको छ भने शान्तिसुरक्षा सुदृढ बनाइएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए ।

    वर्षौँदेखि आयोजित रामलीला महोत्सवमा नारद मोह, रामजन्म, ताड्का बध, जनकपुर आगमन, बजार फूलबारी, धनुष यज्ञ, पर्शुराम, बाणासुर लीला, सीता स्वयंवर, राम वनवास, दशरथ मरण, सीताहरण, लंकादहन र लक्ष्मण शक्ति बाणलगायत लीला प्रदर्शन गरिसकिएको समितिका सदस्य भरतकिशोर वैश्यले बताए । रासस


    प्रतिक्रिया दिनुहोस