आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • जुम्लामा दसैँको समयमा मात्रै १६ करोड बढीका भेडा तथा खसीबोकाको कारोबार


    हुलाक प्रेस

    • सोमबार, असोज २८ २०८१०९:११
    जुम्लामा दसैँको समयमा मात्रै १६ करोड बढीका भेडा तथा खसीबोकाको कारोबार

    जुम्ला । जुम्लामा यस वर्षको दसैँको समयमा मात्रै रु १६ करोडभन्दा बढीको भेडा, खसीलगायतको कारोबार भएको छ । 

    चन्दननाथ नगरपालिका पशुपक्षी विकास शाखा प्रमुख वीरबहादुर रावलले सदरमुकाम खलंगा बजार क्षेत्रबाट मात्रै १६ करोड ३२ लाख ३१ हजारको भेडा, खसी, बोका तथा राँगाभैँसीको बिक्रीवितरण भएको जानकारी दिए ।  

    शाखा प्रमुख रावलका अनुसार जिल्लाकै भेडापालक किसान र बाहिरबाट ल्याइएका समेत गरेर यहाँ सात हजार ९२८ भेडा तथा खसी बिक्री भएका छन् । यस्तै, १५ करोड २३ लाख २३ हजारका भेडा, ७७ लाख ९२ हजार रुपैयाँका खसी र ३१ लाख १६ हजारका राँगा तथा भैसीहरू खरिद बिक्री भएका छन् । जसमा चार सय ८७ खसी, तीन वटा राँगा र ८२ वटा भैँसी रहेका छन् ।

    यहाँ स्थानीय भेडाको अधिकतम मूल्य २८ हजार, न्यूनतम १० हजार भएकामा औसत मूल्य १९ हजार तोकिएको थियो । जुम्ली खसीको अधिकतम मूल्य २४ हजार र न्यूनतम आठ हजार रहेकामा औसत  १६ हजारमा बिक्री भएको जनाइएको छ । अधिकतम मूल्य ५० हजार र न्यूनतम २६ हजारमा किनबेच भइरहेका राँगाभैँसी औसत ३८ हजारमा बिक्री भएका थिए ।

    विसं २०६८ देखि तिब्बती भेडाच्याङ्ग्रा ल्याउन छाडेपछि यहाँ जुम्ली भेडा, खसीबोका मात्रै बिक्रीवितरण हुने गरेका छन् । पशु अस्पताल तथा पशु सेवा कार्यालयका अनुसार जुम्लामा ८८ हजार भेडा छन् ।

    पछिल्लो समय कनकासुन्दरी गाउँपालिकाको गोठीज्यूला, सिंजा गाउँपालिकाको नराकोट, हिमा गाउँपालिकाको जुगाड, बागबजार, तिला गाउँपालिकाको रारालिही, तातोपानी गाउँपालिकाको लिताकोट, पातारासी गाउँपालिकाको लासी बजार र उर्थुचौतारा, गुठीचौरी गाउँपालिकाको मणिसाँघुलगायत साना बजारमा समेत भेडा, खसीलगायतको कारोबार हुने गरेको पशु सेवा कार्यालय जुम्लाले जनाएको छ । रासस


    प्रतिक्रिया दिनुहोस