पेरिस । विश्वका विभिन्न मुलुकले हरितगृह ग्यास कटौतीगर्ने प्रतिबद्धताका बाबजुद् पृथ्वीलाई मुख्य सीमाभन्दा धेरै तापक्रम वृद्धिको मार्गमा डोर्याएको संयुक्त राष्ट्रसङ्घले सोमबार जनाएको छ ।
प्रतिबद्धतालाई इमान्दारीताका साथ कार्यान्वयनमा नलगेमा यो शताब्दीमा तापक्रम वृद्धि विनाशकारी २.९ डिग्री सेल्सियससम्म पुग्ने राष्ट्रसङ्घले चेतावनी दिएको छ ।
दुबईमा महत्वपूर्ण कोप-२८ जलवायु वार्ताको ठीक अघि संयुक्त राष्ट्र पर्यावरण कार्यक्रमको वार्षिक उत्सर्जन रिक्तता रिपोर्ट जारी गरिएको छ र यसले अहिलेसम्म तापक्रम वृद्धि रोक्न गरिएका प्रयास असफलता उन्मुख रहेको उल्लेख गरेको छ ।
यो वर्ष मानव इतिहासकै सबैभन्दा तातो वर्ष हुने अपेक्षा गरिएको सन्दर्भमा यूएनईपीले भनेको छ, ‘विश्वले बिग्रिएको जलवायु रेकर्डको सङ्ख्या, गति र परिमाणमा चिन्ताजनक गति देखिरहेको छ ।’