काठमाडौं । सर्वोच्च अदालतका उपरजिस्ट्रार एवं सहायक प्रवक्ता गोविन्द घिमिरेले आफ्नो सुरक्षाका लागि सरकार आग्रह गरेका छन् ।
पछिल्लोपल्ट सिधाकुरा प्रकरणमा विवादित अडिओलाई लिएर अदालतको अवहेलना मुद्दा अघि बढाउने प्रयोजनका लागि प्रतिवेदन उठाएका घिमिरेले आफ्नो सुरक्षाका लागि सरकारको ध्यानाकर्षण गराएका हुन् ।
राजकुमार तिमल्सिनाले उपलब्ध गराएको अडिओमा आधारित सामग्री प्रकाशन र प्रसारण गरेवापत सिधाकुरा डट कमका दुई पत्रकार एक साता कैद बसिसकेका छन् । उनीहरुलाई ३ महिनाको कैद सजाय सुनाइएको भए पनि माफी मागेका कारण एक सातामै रिहा भएका हुन् ।
सोही मुद्दामा तिमल्सिनालाई ६ महिना कैद सजाय सर्वोच्चको ९ न्यायाधीश सम्मिलित बृहत् पूर्ण इजलासले सुनाएको छ। उनलाई माफी माग्ने अवसर पनि दिइएको छैन । रकम तिरेर कैदबाहिर बस्ने सुविधा पनि उनले नपाउने गरी सर्वोच्चले असोज १३ गते फैसला सुनाएको छ ।
यसै प्रकरणमा काठमाडौँ जिल्ला अदालतमा विद्युतीय अपराध (साइबर क्राइम) सम्बन्धी मुद्दा पनि विचाराधीन छ । तिमल्सिना हाल फरार छन्। उनले भारतीय नम्बरबाट फोन गरेर पनि बेलाबेला धम्क्याउने गरेको उपरजिस्ट्रार घिमिरेले फेसबुकमा लेखेका छन् ।
तिमल्सिनाले आफ्नो फेसबुकमा पनि घिमिरेको तस्बिर राखेर बदला लिने धम्की दिएका छन् । फेसबुकको सोही स्क्रिनसट राखेर घिमिरेले लेखेका छन्, ‘यो वर्ष मेरी काकी स्वार्गारोहण भएको कारण दसैँ थिएन । यही समयमा डेंगीले अस्पताल थिएँ । तर यस्ता कुराको बारम्बार पीडामा छु। बाँकी मेरो संस्थाले यसबारेमा उचित निष्कर्ष र निकाससहितको उपचार निकाल्ने आशामा छु । नेपाल सरकार साइबर ब्युरोले थप अनुसन्धान गरोस् । मलाई उचित सुरक्षा देओस् । अनुरोध गर्न चाहन्छु ।’
यो स्टाटस लेखेको केहीबेरपछि उनले थप लेखेका छन्, ‘स्वतन्त्र न्यायपालिका,विधिको शासन र लोकतन्त्रका लागि बलि दिन तयार छु । विगत २० दिनदेखि भारतीय नम्बर र बेनामीबाट धम्की दिनेहरुबाट विचलित भएको छैन र हुने पनि छैन । मेरो बाटो सपाट छ । मलाई भ्रष्ट भन्नेहरुले मेरो सम्पत्ति विवरण लिए पुग् । चाहिए सञ्जालमा दिन तयार छु । कृपया परिवार भएको मान्छे हुँ । उनीहरुलाई तनाव नदिनुस् ।’
उपरजिस्ट्रार घिमिरेले यसअघि फेसबुकमै नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्धको मुद्दा पनि फिर्ता लिन र स्वतन्त्र जीवन जिउन चाहेको लेखेपछि निकै ठूलो तरंग पैदा गरेको थियो । तर उनले पछि तिमल्सिनाले विभिन्न प्रकारले धम्की दिइरहेका बेला अर्को मुद्दा अघि बढाउनुपर्ने भएपछि थप दबाब र तनाव खेप्न नचाहेको कारण उक्त स्टाटस लेखेको प्रस्टीकरण सर्वोच्चका अधिकारीहरूलाई दिएका थिए । उपरजिस्ट्रार घिमिरेले नै उठाएको प्रतिवेदनका आधारमा बार अध्यक्षविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दर्ता भइसकेको छ ।