काठमाडौं । पाँच वर्षमा लाग्ने गढीमाई मेला यसवर्ष मंसिर १७ देखि सुरु हुने भएको छ । बारास्थित महागढीमाई नगरपालिकाको बरियारपुरमा लाग्ने उक्त मेला मंसिर ३० सम्म सञ्चालन हुने भएको छ ।
गढीमाई मेलाका लागि महागढी नगरपालिकाका प्रमुख उपेन्द्रप्रसाद यादवको संयोजकत्वमा मूल व्यवस्थापन समिति गठन गरिएको छ । मेलामा करोडौं भक्तजन तथा दर्शनार्थीहरु आउने व्यवस्थापन समितिले जनाएको छ ।
भक्तजनको सुरक्षाका लागि समेत उचित व्यवस्था गरिएको र हरेक चोकमा प्रहरीले सुरक्षा दिने मेला समिति संयोजक उपेन्द्रप्रसाद यादवले जानकारी गराए । मेला समितिले यो वर्ष एक हजार बिघामा मेला लगाउने तयारी गरेको यादवले बताए । उक्त क्षेत्रफलमा सातै प्रदेशका कृषिजन्य वस्तु पनि राखिने व्यवस्थापन समितिले जानकारी गराएको छ ।
गढीमाईमा विशेष पुजाका रुपमा मङ्सिर शुक्ल पक्ष सप्तमी तिथिमा झाँक्रीले विधिपूर्वक विशेष तान्त्रिक पुजा गरी पञ्चवली दिने परम्परा छ । गढीमाईको विशेष पुजा मंसिर २३ देखि २५ गतेसम्म हुनेछ । मेला समिति संयोजक उपेन्द्रप्रसाद यादवका अनुसार दिल्ली, हरियाना, उडिसा, विहार, झारखण्ड, युपी, बंगाललगायतका राज्यबाट ठूलो संख्यामा भक्तजनहरू आउने गर्दछन् ।