आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • अदालतमा विचाराधीन मुद्दा जिताइदिने भन्दै एक करोड २८ लाख रुपैयाँ लिने व्यक्ति पक्राउ


    हुलाक प्रेस

    • सोमबार, कात्तिक १२ २०८१०६:११
    अदालतमा विचाराधीन मुद्दा जिताइदिने भन्दै एक करोड २८ लाख रुपैयाँ लिने व्यक्ति पक्राउ

    काठमाडौं । उच्च अदालतमा विचाराधीन मुद्दा जिताइदिने नाममा एक करोड २८ लाख रुपैयाँ लिएर फरार भएको आरोप लागेका एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुरको भैँसेपाटी बस्ने ४५ वर्षीय रविन्द्र महर्जन छन् ।

    प्रहरीका अनुसार उनले जाहेरवालालाई भेटेर काठमाडौं–निजगढ फास्ट ट्रयाक टेन्डरमा सहभागी हुने क्रममा भएको निर्णयविरुद्ध उच्च अदालतमा विचाराधीन मुद्दा जिताइदिने आश्वासन दिएर रकम माग गरेका थिए । उनले जाहेरवालालाई रकम नदिए मुद्दा हराइदिने धम्की पनि दिएका थिए ।

    महर्जनमाथि नगद र कनेक्ट आईपीएसबाट विभिन्न मितिमा एक करोड २८ लाख रुपैयाँ लिएर फरार भएको आरोप लागेको छ ।

    उनलाई पक्राउ गर्न प्रहरीले कात्तिक ६ गते नै काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो । खोजतलासका क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई आज काठमाडौंस्थित बुद्धनगरबाट पक्राउ गरेको हो ।

    थप अनुसन्धान तथा कारबाहीका लागि उनलाई जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ ।


    प्रतिक्रिया दिनुहोस