काठमाडौं । सल्यानमा मिनी ट्रक दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । दुर्घटनामा अन्य सातजना घाइते भएका छन् ।
कपुरकोट गाउँपालिका–६ सिनबाङको दुबेदेबाट धान र पराल लिएर सिनबाङ्गतर्फ जाँदै गरेको रा १ ख २४०२ नम्बर मिनी ट्रक सोमबार साँझ दुर्घटनामा परेको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका ट्रक चालक २६ वर्षीय मानबहादुर भण्डारीको पनि उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । भण्डारीको दाङ तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।
दुर्घटनामा परेर स्थानीय १४ वर्षीय गोवर्द्धन खड्का, १२ वर्षीय डिल्ली भन्ने अनिल भण्डारी र १५ वर्षीया सिर्जना बस्नेतको सोमबार साँझै मृत्यु भएको थियो ।
जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी एवं प्रहरी निरीक्षक रेशमबहादुर खत्रीका अनुसार दुई जनाको घटनास्थलमै एक जनाको बाटोमा र चालकको उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा परेर १३ वर्षीया खुमा बस्नेत, ३५ वर्षीया नन्दा बस्नेत, १७ वर्षीय जीत सागर बस्नेत, १७ वर्षीय सञ्जीव बस्नेत, २९ वर्षीय शङ्कर खड्का, ३५ वर्षीय देवबहादुर बस्नेत र २२ वर्षीय हिक्मत थापा घाइते भएका छन् ।
घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । ट्रक सडकदेखि एक सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण खुलेको छैन ।