आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • तिहारमा तनहुँका ३ युवाले बेचे एक लाख बराबरको फूल


    हुलाक प्रेस

    • आइतबार, कात्तिक १८ २०८१०७:२१
    तिहारमा तनहुँका ३ युवाले बेचे एक लाख बराबरको फूल

    तनहुँ । तनहुँ जिल्लाको म्याग्दे गाउँपालिकाका तीन युवाले तिहारलाई लक्षित गरी एक लाख रुपैयाँको सयपत्री फूल बिक्री गरेका छन् । यसै वर्ष पहिलोपटक सयपत्री फूलखेती गरेका यहाँका तीन युवाले तिहारलाई लक्षित गरी एक लाख बढीको फूल बिक्री गरेका हुन् ।

    अक्षय कायस्थ, सन्तोष श्रेष्ठ र सुजन श्रेष्ठले म्याग्दे गाउँपालिका–६ धैरेनीमा उत्पादित सयपत्री स्थानीय स्तरमा बिक्री गरेका छन् । मागअनुसार सयपत्री फूल पुर्‍याउन नसकिएको अक्षयले जानकारी दिए ।

    फूल लगाउन ढिलाइ भएकाले उत्पादन कम भएको भन्दै माग धेरै आएकाले माग अनुसार पुर्‍याउन नसकिएको उनले बताए । उनले भने, ‘बारीमा लगाएकोमध्ये एकतिहाइ मात्र फूल उत्पादन भएको छ । अझै फूल उत्पादन हुन बाँकी छ । तिहारमा मनग्ये बिक्री भयो । बजार मूल्य राम्रो पाउँदा हामी उत्साहित भएका छौँ ।’

    उनले प्रतिकिलो २ सय ५० रुपैयाँमा फूल बिक्री गरिएको जानकारी दिए । फूल बिक्रीका लागि म्याग्दे–४ थर्पुमा बिक्री केन्द्र स्थापना गरिएको थियो । गाउँपालिकाको सहयोगमा बिक्री केन्द्रमा राखिएको फूलले बजार पाउन सफल भएको अक्षयको भनाइ छ ।

    म्याग्दे गाउँपालिकाको पुष्पखेती कार्यक्रममार्फत पहिलोपटक युवाहरूले सयपत्री फूलखेती सुरु गरेका हुन् । सयपत्री फूलखेतीका लागि गाउँपालिकाले बीउ खरिदमा ७५ प्रतिशत अनुदान दिएको थियो । रासस


    प्रतिक्रिया दिनुहोस