बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • हुम्लामा कांग्रेसद्वारा उपनिर्वाचनका लागि उमेदवारको टुंगो


    हुलाक प्रेस

    • आइतबार, कात्तिक २५ २०८१०९:४६
    हुम्लामा कांग्रेसद्वारा उपनिर्वाचनका लागि उमेदवारको टुंगो

    सिमकोट (हुम्ला) । आगामी मंसिर १६ गते हुन लागेको स्थानीय तह उपनिर्वाचनका लागि नेपाली कांग्रेसले हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदको उमेदवारको टुंगो लगाएको छ ।

    सर्केगाड गाउँपालिका–८, राहदेवकी सविता बुढालाई नेपाली कांग्रेस जिल्ला कार्य समितिले उमेदवार चयन गरेको सो पार्टीका जिल्ला उपसभापति वसन्त रोकायाले जानकारी दिए । विसं २०७९ को स्थानीय तहको निर्वाचनमा पनि बुढा कांग्रेसबाट आकांक्षी थिइन् ।  

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले भने हालसम्म उमेदवारको टुंगो लगाउन सकेका छैनन् । एमाले यतिबेला सर्केगाड गाउँपालिकाका आठवटै वडामा विभिन्न नेताको नेतृत्वमा टोली परिचालन गरी घरदैलोमा व्यस्त छ । चार समूह बनाएर घरदैलो अभियान गरिरहेको एमाले जिल्ला सचिव तीर्थराज बोहराले बताए ।

    माओवादी केन्द्र पनि उमेदवार चयनका लागि सर्केगाडमा केन्द्रित भएको सो पार्टीका जिल्ला सचिव धर्मराज बोहराले बताए । यसअघि २०७९ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन हुँदा सर्केगाडको अध्यक्षमा ठानबहादुर रोकाया र उपाध्यक्षमा चन्द्रसिंह कार्की निर्वाचित भएका थिए । सुर्खेतबाट नेपालगञ्ज जाने क्रममा उपाध्यक्ष कार्कीको दुर्घटनामा परी निधन भएपछि रिक्त उक्त  पदका लागि सर्केगाडमा उपनिर्वाचन हुनलागेको हो । रासस


    प्रतिक्रिया दिनुहोस