आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • दसैँ, तिहार र छठमा मधेसमा पाँच करोडको फूल किनबेच


    हुलाक प्रेस

    • सोमबार, कात्तिक २६ २०८१०८:३०
    दसैँ, तिहार र छठमा मधेसमा पाँच करोडको फूल किनबेच

    जनकपुरधाम । यस वर्षको दसैँ, तिहार तथा छठ पर्वमा जनकपुरलगायतका मधेसका बजार क्षेत्रमा रु पाँच करोड मूल्य बराबरका फूल तथा फूलमालाको किनबेच भएको छ । गत वर्षको सोही अवधिमा करिब रु तीन करोड ५० लाख मूल्यबराबरको फूल किनबेच भएको थियो । 

    पोहोरको तुलनामा यस वर्ष फूलको कारोबार वृद्धि भएको फूलको थोक व्यापारी जेके फ्लावर एन्ड गिफ्ट हाउस जनकपुरका सञ्चालक जितेन्द्रकुमार भण्डारीले बताए । 

    उक्त परिमाणमा फूल किनबेच जनकपुर, जलेश्वर, लहान, राजविराज, लालबन्दी, मलंगवा,  हरिऔन, चन्द्रनिगाहपुर तथा गौरको आसपासका बजारमा भएको हो । भण्डारीका अनुसार यस वर्ष बजार मागको ९५ प्रतिशतभन्दा बढी फूलमाला आन्तरिक उत्पादन र पाँच प्रतिशतभन्दा कम भारतबाट आयात भएको थियो ।

    विगतमा भारतको पटना तथा कलकताबाट फूल तथो माला आयात हुने गर्थ्यो । यस वर्ष सरकारले आयातमा कडाइ गरेपछि आन्तरिक उत्पादनका फूलमाला बिक्री भएको उनको भनाइ छ । 

    जनकपुर बजार क्षेत्रमा फूल व्यापारी २० जना छन् भने करिब दुई सय किसान फूल खेतीमा लागेको कृषि ज्ञान केन्द्रले जनाएको छ । धनुषामा करिब ५० बिघा क्षेत्रफलमा गोदावरी फूलको व्यावसायिक खेती हुने गरेको छ । देपुरा, रुपैठा, फूलगामा, परवाहा, ढल्केबर लगायतका ग्रामीण व्यावसायिक फूल खेती हुने गरेको छ । 

    कहिलेकाहीँ प्रतिकूल मौसमका कारण फूल बिग्रिने गरेको जनकपुर घर भई काठमाडौं गौशालामा थोक व्यापार गर्दै आएका ७० वर्षीय रामदयाल माली भण्डारीले बताए । स्थानीय खुद्रा व्यवसायी रामजीवन भण्डारीले यस वर्ष रु २० लाखको फूल बिक्री गरेको जानकारी दिए । 
     
    नेपालमा खासगरी पाँच प्रजातिको सयपत्री फूल पाउने भए पनि कलकतिया तथा पटनिया प्रजातिका सयपत्रीफूल अत्यधिक बिक्री हुने व्यापारी तथा किसानहरु बताउँछन् । फूल खेतीका लागि प्रचुर सम्भावना भएकाले स्थानीय सरकारले यसको विकासमा जोड दिनुपर्ने फूल व्यवसायीको भनाइ छ । रासस


    प्रतिक्रिया दिनुहोस