आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • सङ्क्रमणकालीन न्याय सम्बन्धी दुवै आयोगमा आवेदन माग, दरखास्त दिन देखिएन आकर्षण


    हुलाक प्रेस

    • सोमबार, कात्तिक २६ २०८१०८:३९
    सङ्क्रमणकालीन न्याय सम्बन्धी   दुवै आयोगमा आवेदन माग, दरखास्त दिन देखिएन आकर्षण

    काठमाडौँ । सङ्क्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी दुई आयोग बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्यका लागि सर्च कमिटीले आवेदन खुला गरेको छ । समितिले शुक्रबार आवेदन  खुला गरेको हो । समितिले पाँच दिनको समय राख्दै आवेदन माग गरेको छ ।

    सर्च कमिटीले सार्वजनिक सूचनामार्फत पदाधिकारीमा योग्यता पुग्ने व्यक्तिहरूलाई आवेदन दिन भनेको छ । तर आवेदन दिन खासै आकर्षण देखिएको छैन । हालसम्म केही आवेदन प्राप्त भएको तर सोचेजस्तो व्यक्तिहरूले आवेदन नदिएको सचिवालयले जनाएको छ ।

    आयोगमा आकर्षण नभएको र नियुक्त भए पनि काम गर्न सहज नभएको पूर्व पदाधिकारीहरूको टिप्पणी छ । सत्य निरूपण तथा मेलमिलाप आयोगका पूर्वअध्यक्ष गणेशदत्त भट्टले योग्य व्यक्तिहरूले आवेदनमा रुचि राख्न नसक्ने बताए ।

    आयोगमा बसेर काम गर्न सहज नभएको र टीआरसी आफैँ जटिल भएकाले योग्य व्यक्तिले आवेदन दिने सम्भावना न्यून रहेको भट्टले बताए । सर्च कमिटीले उक्त कुरा ख्याल राखेर शान्ति प्रक्रिया र मानव अधिकारको विषयमा योग्यता भएका व्यक्तिहरूलाई अनुरोध गरेर सुरुमै रोष्टरमा राखेर सिफारिस गर्नुपर्ने उनको सुझाव छ ।

    पूर्वअध्यक्ष भट्टले भने, ‘जागिरका लागि निवेदन हालेर योग्य मान्छे आउँदैनन् । यी आयोग आफैँमा पनि अपजसको काम गर्ने ठाउँ हुन् । योग्य व्यक्तिहरूले सरकारदेखि अन्य कठिनाइ बुझेका छन् ।’ सर्च कमिटी र राजनीतिक नेतृत्वसहितले यो कुरालाई ध्यान दिएर सम्बन्धित विज्ञ तथा दक्षता भएकालाई अनुरोध नै गर्नुपर्ने उनको भनाइ छ ।

    यी हुन् सम्भावित नाम
    अहिले राजनीतिक रूपमा दुवै आयोगमा जान योग्य व्यक्तिले दौडधुप गरिरहे पनि उनीहरू खुलेर बोल्दैनन् । नाम चर्चामा रहेका व्यक्तिहरू टीआरसी आयोग वा बेपत्ता छानबिन आयोगमा जान इच्छुक हो भनेर खुल्न गाह्रो हुने अवस्था छ । किनकि सिफारिस समितिले काम गरिरहेको छ ।

    आयोगको अध्यक्षमा यसअघि गणेश भट्ट र सूर्यकिरण गुरुङले एक–एक कार्यकाल पूरा गरिसकेका छन् । सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग गरी दुई वटा आयोगका अध्यक्षका लागि पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, मानवअधिकार आयोगका पूर्वसदस्य गौरी प्रधान र सुशील प्याकुरेल, पूर्वन्यायाधीश प्रकाश वस्ती, पूर्वसभामुख दमननाथ ढुंगाना, पूर्वमन्त्री गोविन्द बन्दी, संविधानविद् तथा राष्ट्रिय सभाका पूर्वसदस्य राधेश्याम अधिकारी, पूर्वमहान्यायाधिवक्ता अग्नि खरेल, वरिष्ठ अधिवक्ता विपीन अधिकारी, खिमलाल देवकोटा, टीका ढकाल लगायतको नाम चर्चामा छ । त्यस्तै केही पूर्वसचिवहरूको नाम पनि चर्चाको सूचीमा छ ।

     


    प्रतिक्रिया दिनुहोस