आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • कोसी नामविरुद्ध पहिचानवादीले फेरि आन्दोलन गर्ने, प्रदेश सांसदलाई जिल्ला प्रवेशमा रोक


    हुलाक प्रेस

    • सोमबार, मंसिर ३ २०८१०९:२१
    कोसी नामविरुद्ध पहिचानवादीले फेरि आन्दोलन गर्ने, प्रदेश सांसदलाई जिल्ला प्रवेशमा रोक

    विराटनगर । कोसी नाम खारेजीको माग गर्दै पहिचानवादीले फेरि आन्दोलनको घोषणा गरेका छन् । विराटनगरमा सोमबार पत्रकार सम्मेलन गरेर पहिचानवादीहरूले दोस्रो चरणको आन्दोलन घोषणा गरेका हुन् ।

    नयाँ आन्दोलनको कार्यक्रमअन्तर्गत आगामी फागुन १७ गते कालो दिवसको रूपमा मनाइने संघर्ष समितिले जनाएको छ । एमाले नेतृत्वको तत्कालीन सरकारले ०७९ फागुन १७ गते प्रदेश नम्बर १ लाई कोसी नामकरण गरेको थियो । लगत्तै पहिचानवादी आन्दोलित भएका थिए ।

    पहिचानसहितको नाम राखिनुपर्ने उनीहरूको माग यथावत् छ । संघर्ष समितिले चैत १० गतेसम्म कोसी प्रदेशको नाम खारेजी गरेर पुनः नामांकनको प्रक्रिया सुरु गर्नुपर्ने प्रमुख माग अघि सारेको समितिका संयोजक डकेन्द्रसिंह थेगिमले बताए ।

    “हामी आफ्नो मागबाट रत्तीभर पनि डगमगाएका छैनौँ । कोसी नाम नफेरिएसम्म हाम्रो आन्दोलन जारी रहन्छ,” उनले भने ।

    थेगिमका अनुसार, संघर्ष समितिले प्रदेशसभा, मुख्यमन्त्री कार्यालय घेराउसहित अनिश्चितकालीन हडताल गर्ने र कोसी पक्षमा प्रदेशसभामा मतदान गर्ने प्रदेश सांसदलाई जिल्लामा हुने कार्यक्रममा सहभागी हुन रोक लगाउने निर्णय गरेको छ । यस्तै, सरकारी कार्यालय र अड्डामा राखिएका कोसी नामका बोर्डमा कालो पोत्ने, कोसी लेटर प्याड र छाप प्रयोग गर्न नदिने उनीहरूको निर्णय छ ।


    प्रतिक्रिया दिनुहोस