आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • दुर्गा प्रसाईलाई दुई वटा कसुरमा मुद्दा चलाइदै, कति होला सजाय ?


    हुलाक प्रेस

    • मंगलबार, मंसिर ४ २०८१०६:०६
    दुर्गा प्रसाईलाई दुई वटा कसुरमा मुद्दा चलाइदै, कति होला सजाय ?

    काठमाडौं । प्रहरीले मंगलबार पक्राउ गरेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध साइबर अपराध र किर्ते गरी दुई वटा मुद्दा चलाएको छ । 

    प्रधानमन्त्री केपी शर्मा ओलीको २१ करोड डलर कम्बोडियाको आजिआटा कम्पनीमा लगानी भन्दै भिडियो हालेका प्रसाईंलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको थियो ।  

    भिडियो सार्वजनिक गरेर भ्रम फैलाएको तथा ओलीकै हस्ताक्षर समेत किर्ते गरेको आरोपमा दुई मुद्दा चलाएको हो । योसँगै प्रसाईंविरुद्धको मुद्दा बलियो बनाउने तयारीमा प्रहरी छ । 

    प्रसाईं यसअघि गएको असोज ६ गते पनि पक्राउ गरेका थिए । एक महिलाले आफ्नो चरित्र हत्या हुने गरी आपत्तिजनक अभिव्यक्ति दिएको उजुरीका आधारमा उनी पक्राउ परेका थिए । त्यतिबेला पनि प्रसाईं भक्तपुरस्थित निवासबाट नै पक्राउ परेका थिए ।

    ९ दिन प्रहरीको हिरासतमा बसेका प्रसाईंलाई जिल्ला अदालत काठमाडौंले एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएपछि उनी थुनामुक्त भएका थिए । विद्युतीय अपराधसम्बन्धी दुई वटा मुद्दामा प्रसाईंलाई ५०–५० हजार रुपैयाँ धरौटी लिने गरी अदालतले आदेश दिएको थियो ।

    के छ कानुनी व्यवस्था ?
    पहिलोपटक पक्राउ पर्दा नौ दिन मात्रै प्रहरीको थुनामा बसेर छुटेका प्रसाईं यसपटक भने त्यति सजिलै छुट्न कानुनी रूपमै कठिन छ ।

    उनीमाथि एकैसाथ प्रहरीले दुई वटा मुद्दामा अनुसन्धान गर्ने भएको हो । मुलुकी अपराध संहिताको दफा २७६ को उपदफा ३ ‘ग’ अनुसार सरकारी वा सार्वजनिक लिखत कीर्ते गर्नेलाई सात वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

    त्यस्तै, हस्ताक्षर कीर्ते कसुरमा छुट्टै पाँच वर्ष कैद र पाँच हजारसम्म जरिवाना हुने व्यवस्था छ । साइबर अपराधमा छुट्टै कानुनी व्यवस्था छ ।

    प्रसाईंमाथि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन २०६३ को दफा ४७ अनुसार अनुसन्धान हुनेछ । उक्त कसुरअनुसार ठहर भए एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुनसक्ने व्यवस्था छ ।

    उनीविरुद्ध यसअघि समेत यही कसुरमा अनुसन्धान भएको थियो । एक महिनामै पुनः कसुर दोहोरिएकाले अदालतले समेत उनलाई यो पटक धरौटीमा छोड्ने सम्भावना कम देखिन्छ ।


    प्रतिक्रिया दिनुहोस