आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • इजरायली प्रधानमन्त्री नेतन्याहुविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतबाट पक्राउ पुर्जी जारी


    हुलाक प्रेस

    • बिहीबार , मंसिर ६ २०८१०८:१७
    इजरायली प्रधानमन्त्री नेतन्याहुविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतबाट पक्राउ पुर्जी जारी

    काठमाडौं । अन्तर्राष्ट्रिय फौजदारी अदालतले बिहीबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसहित केही वरिष्ठ अधिकारीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

    नेतान्याहुसहित पूर्वरक्षामन्त्री योआव गलान्ट र हमासका सैन्य प्रमुख मोहम्मद देइफलाई मानवताविरुद्धको अपराध र युद्ध अपराधका आरोपमा पक्राउ पुर्जी जारी गरेको हो ।

    अन्तर्राष्ट्रिय अदालतको पूर्वपरीक्षण चेम्बरले आफ्नो क्षेत्राधिकारमा इजरायलका चुनौतीहरू अस्वीकार गर्दै गाजापट्टीमा इजरायलको आक्रमणसम्बन्धी नेतन्याहु र गलान्ट दुवैका लागि पक्राउ पुर्जी जारी गरेको घोषणा गरेको छ ।

    यो घटनाक्रम त्यतिबेला भएको हो जब स्थानीय अधिकारीहरूका अनुसार प्यालेस्टिनी क्षेत्रमा मृतकको संख्या ४४ हजारभन्दा बढी पुगिसकेको छ, जसमा हजारौं बालबालिका पनि समावेश छन् ।

    हमासद्वारा नेतृत्व गरिएको अक्टोबर ७ को आतंकवादी आक्रमणपछि, करिब १२ सय इजरायली मारिएका थिए भने करिब २५० जना बन्धक बनाइएपछिको इजरायली घातक हमलामा धेरै मानिसहरुको हताहती भएको हो ।

    इजरायलले गाजामा युद्ध अपराधको आरोपलाई लगातार अस्वीकार गर्दै आएको छ र यसलाई ‘एक दुष्ट अभियोजक जसले एक मात्र यहूदी राष्ट्रलाई बदनाम गर्न खोजेको’ भन्ने गरेको छ। यसअघि उसले आफ्ना सहयोगीहरूसँग कुनै पनि पक्राउ पूर्जी लागू नगर्न आह्वान गरेको थियो ।

    इजरायल र संयुक्त राज्य अमेरिका दुवैले अदालतको क्षेत्राधिकारलाई मान्यता दिएका छैनन्, यद्यपि अमेरिकाले इजरायलको आक्रमणलाई समर्थन गर्ने गरेको छ ।


    प्रतिक्रिया दिनुहोस