काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा चीन सरकारसँग ऋणसम्बन्धी कुनै सम्झौता नभएको बताएका छन्।
बिहीबार चार दिने औपचारिक चीन भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुले सोधेको प्रश्नको जवाफ दिँदै चीन भ्रमणपूर्व नै कुनै पनि ऋण नलिने भनिसकेको र ऋणको बारेमा चीन भ्रमणमा कुनै सम्झौता नभएको स्पष्ट पारे।
उनले भ्रमणमा बीआरआईअन्तर्गत गरिएका सम्झौताअनुसार नेपालले पाउने सबै रकम अनुदान भएको बताए।
उनले भने, ‘अस्ति नै देखि मैले हामी कुनै ऋण लिन जाँदै छैनौँ, ऋण लिनेबारे कुनै कुरा पनि चलेन, मैले यहाँ बोलेकै थिएँ। छलफल पनि भएन। हामीले यसपल्ट बिआरआई अन्तर्गत विभिन्न परियोजनाहरुको कुरा गरेका छौँ। हरेक परियोजनाअन्तर्गत हामी छुट्टै छलफल, छुट्टै एग्रिमेण्टहरु गर्छौं र त्यसको कार्यान्वयन कसरी गर्ने भन्ने सन्दर्भमा।’
प्रधानमन्त्री ओलीले सरकारको नेतृत्व अब १८ महिना गरेपछि आफूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गर्ने दोहोर्याए। उनले देउवाले डेढ वर्ष सरकारको नेतृत्वसँगै निर्वाचन गराउने र चुनावमा बहुमत ल्याउन सबै राजनीतिक दलहरुले प्रयास गर्ने बताए। उनले बहुमत नआएको खण्डमा गठबन्धनबाट नयाँ सरकार बन्ने बताए।