काठमाडौं । आपराधिक विश्वासघात गरेको आरोपमा अभिनेता अनमोल केसी पक्राउ परेका छन्। उपत्यका प्रहरी अपराध महाशाखाले उनलाई भक्तपुरबाट पक्राउ गरेर हिरासतमा राखेको छ।
उनीमाथि एक करोड १५ लाखको आर्थिक विश्वास घात गरेको आरोप रहेको र अदालतबाट अनुमति लिएर पक्राउ गरिएको कार्यालयका एसपी रवीन्द्र रेग्मीले बाताए
उनले फिल्म रावायणमा अभिनय गर्न सहमतहुँदै १० लाख रकम लिएको र उनी सहमत भएपछि अन्य कलाकारहरूसहित गरेर निर्माण प्रक्रियामा एक करोड १५ लाख खर्च भइसकेपछि फिल्म खेल्न अस्वीकार गरेको भन्दै उनी विरुद्ध उपत्यका प्रहरी कार्यालयमा उजुरी परेको थियो।
रावायण नामक फिल्ममा भएको विवादलाई लिएर निर्माता समूहले केसीविरुद्ध आपराधिक विश्वासघातको कसुरमा किटानी जाहेरी दिएका थिए । उनलाई भक्तपुरको साँगाबाट साँझ साढे ५ बजे नियन्त्रणमा लिइएको र थप अनुसन्धानका लागि हिरासतमा राखिएको छ ।
निर्माण कम्पनी सुदर्शन थापा प्रोडक्सन प्रालिको तर्फबाट सुप्रिया भन्ने चन्द्रकला कटुवालले उजुरी दिएकी थिइन् । उक्त उजुरीको आधारमा अनमोलविरुद्ध केही दिनअघि पक्राउ पुर्जी जारी भएको रेग्मीले जानकारी दिए । प्रहरीले खोजी कार्य गर्दा सूचनाको आधारमा साँगाबाट पक्राउ गरिएको हो ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरका अनुसार, केसीले फिल्म खेल्छु भनेर बैंक ट्रान्सफरमार्फत १० लाख रुपैयाँ लिएका थिए । तर, फिल्म खेल्न मानेका थिएनन् ।