बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • ६० केजी सुन तस्करी प्रकरणः छानवनि आयोगले लियो हालसम्म ८ जना प्रतिवादीसँग बयान


    हुलाक प्रेस

    • आइतबार, मंसिर १७ २०८००७:२९
    ६० केजी सुन तस्करी प्रकरणः छानवनि आयोगले लियो हालसम्म ८ जना प्रतिवादीसँग बयान

    काठमाडौं । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले कारागारमा रहेका प्रतिवादीहरुसँग वयान लिन थालेको छ । त्रिभुवन विमानस्थलबाट सुन तस्करी भएको विषयमा छानबिन गर्न गठित आयोगले आइतबारदेखि प्रतिवादीहरुसँग वयान लिन थालेको हो ।

    जाँचबुझ आयोगका संयोजक तथा पूर्वन्यायाधीश डिल्लीराज आचार्यले हालसम्म ८ जना प्रतिवादीसँग बयान लिइसकेको बताए । उनका अनुसार रसुवा, तातोपानी र त्रिभुवन विमानस्थल भन्सार कार्यालयलगायतको स्थलगत अनुसन्धान सकेपछि प्रतिवादीसँग सोधपुछ गर्ने काम शुरु गरिएको हो ।

    आयोगले स्थलगत अध्ययन, अवलोकन तथा सुझाव लिने क्रममा केही भन्सार नाका र ती नाकासँग सम्बन्धित भन्सार कार्यालय, अध्यागमन कार्यालय, सुरक्षा निकाय, त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालय, नेपाल नागरिक उड्डयन प्राधिकरण, भन्सार कार्यालय, नेपाल एयरलाइन्स, नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड, सुरक्षा निकायहरुको स्थलगत अध्ययन एवं अवलोकन गरेको आचार्यले जानकारी दिए ।

    विद्युतीय चुरोट (भेप) र ब्रेक प्याडसँग सम्बन्धित सुन तस्करीका घटनामाथि अध्ययन गरिरहेको छ । कार्यसम्पादनको सिलसिलामा विभिन्न ८ वटा निणर्य भएको संयोजक आचार्यले बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी भएको विषयको छानबिन गर्न सरकारले असोज १५ गते उच्च अदालतका पूर्वन्यायाधीश आचार्यको संयोजकत्वमा ४ सदस्यीय आयोग गठन गरेको हो । आयोगको सदस्यमा पूर्वसहसचिवहरु किशोरजंग कार्की र प्रेमराज जोशी तथा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सहकुल थापा छन् ।

    सिंहदरबारस्थित गृह मन्त्रालय रहेको पुरानो भवनमा कार्यालय स्थापना गरेर आयोगले असोज १६ देखि काम थालनी गरेको हो । सरकारले आयोगलाई तीन महिनाभित्र अनुसन्धान सम्पन्न गरेर सुनको अवैध पैठारी तस्करीको नियन्त्रणका लागि सुझावसहितको प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ ।

    सुन तस्करी प्रकरणमा प्रमुख प्रतिपक्षी नेकपा एमालेलगायतका दलले उच्चस्तरीय छानबिन आयोगको माग गर्दै लामो समय संसद् अवरुद्ध गरेपछि भदौ ६ गते सरकार र राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलबीच उच्चस्तरीय छानबिन आयोग गठन गर्ने सहमति भएको थियो ।

    ब्रेक प्याडमा सुन तस्करी

    साउन २ गते राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट बाहिरिँदै गर्दा सुन बरामद गरेको थियो । ‘ब्रेक सु’भित्र लुकाएर ल्याइएको उक्त सुन गालेर जोख्दा ६० किलो ७ सय १६ ग्राम पाइएको थियो ।

    विभागले १८ दिनसम्म आफैं अनुसन्धान गरेको थियो । सरकारको निर्देशनपछि विभागले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई पक्राउ परेका आरोपितसहित साउन २१ गते फाइल हस्तान्तरण गर्‍यो ।

    सीआईबीको अनुसन्धानका क्रममा तस्करीमा संलग्न गिरोहले विभिन्न सात कम्पनीबाट ३६२ किलो (३०२ र ६० किलो) भन्दा बढी सुन तस्करी गरेको खुलेको थियो ।

    अध्ययन सकेर सीआईबीले भदौ २७ गते सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझायो भने ३१ गते सरकारी वकिलको कार्यालयले ३ अर्ब ५० करोड मागदाबी तथा २९ जनालाई प्रतिवादी बनाउँदै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गर्‍यो । प्रतिवादी बनाइएका २९ जनामध्ये २६ जना प्रहरी हिरासतमा छन् भने ३ जना फरार छन् ।

    जिल्ला अदालतमा दर्ता भएको अभियोग पत्रअनुसार ३ अर्ब ५० करोड २ लाख रुपैयाँ र ब्रेक सु को भन्सार शुल्कसहित २८ लाख ७५ हजार रुपैयाँ गरी ३ अर्ब ५० करोड ३० लाख रुपैयाँ बिगो कायम गरिएको छ ।

    भेपमा सुन तस्करी

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले २०७९ माघ २९ मा दुईवटा सुटकेसभित्र ७३ वटा बट्टामा ७३० थान भेप बरामद गरेको थियो ।

    भेपमा सुन तस्करी भएको विषयमा पूर्वसभामुखसमेत रहेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासमेत शंकाको घेरामा तानिए । तर, सीआईबी महराविरुद्ध मुद्दा चलाउनु नपर्ने निष्कर्षमा पुग्यो । महराका छोरा राहुलसहित चार जनाविरुद्ध भने सीआईबीले मुद्दा चलाउन सिफारिस गर्‍यो ।

    सीआईबीको सिफारिसका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले असोज २४ गते राहुलसहित चिनियाँ तस्करका सहयोगी लोकेन्द्र पौडेल, ६० किलो सुन तस्करी प्रकरणरमा थुनामै रहेका दावा छिरिङ र काभ्रेका निमा गुरुङविरुद्ध मुद्दा दायर गर्‍यो ।

    माओवादी नेता महराले सुनसहितको भेप छुटाउन दबाब दिएको खुलेको थियो भने उनका छोरा राहुलको चिनियाँ नागरिक वाङसँग निकट सम्बन्ध देखिएको थियो ।


    प्रतिक्रिया दिनुहोस