आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • ऊर्जा उद्यमी प्रधानविरूद्ध काठमाडौं जिल्ला अदालतमा २६ करोड माग दाबीसहित मुद्दा दायर


    हुलाक प्रेस

    • आइतबार, मंसिर ३० २०८१०९:३०
    ऊर्जा उद्यमी प्रधानविरूद्ध काठमाडौं जिल्ला अदालतमा २६ करोड माग दाबीसहित मुद्दा दायर

    काठमाडौं । जिल्ला सरकारी वकिल कार्यालयले ऊर्जा उद्यमी ज्ञानेन्द्रलाल प्रधानविरूद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर गरेको छ । गएको शुक्रबार २६ करोड ३९ लाख ७९ हजार ४६६ रुपैयाँ विगो दाबीसहित सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर गरेको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका जिल्ला न्यायाधिवक्ता सीताराम अर्यालले बताए ।

    सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ३० को उपदफा (१) बमोजिम सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर गर्ने व्यक्तिलाई बिगोको दोब्बर जरिवाना र कसुरको गाम्भीर्यता हेरेर दुई वर्षदेखि १० वर्षसम्म कैद सजाय माग गरिएको अर्यालले बताए ।

    उनी दोषी ठहर भए विगोको दोब्बर जरिवाना र दुईदेखि १० वर्षसम्म जेल सजाय हुने बताइएको छ ।

    प्रधानले आफू कम्पनीको अध्यक्ष हुँदा आफ्नो नामको सेयर श्रीमती, छोरा र छोरीलाई नामसारी गर्दै बिक्री गरेकाले जालसाजीयुक्त कारोबार गरेको नेपाल धितोपत्र बोर्डले निष्कर्ष निकालेको थियो ।

    आफैँ अध्यक्ष भएर सेयर बिक्री गर्नु धितोपत्रसम्बन्धी ऐनको दफा ९८ अनुसार जालसाजीयुक्त कारोबार भएको रूपमा बोर्डले हेरेको थियो ।

    प्रधानलाई नेपाल धितोपत्र बोर्डले २०७९ चैत १९ गते ७५ हजार जरिवानासहित १० वर्षसम्म सूचीकृत संस्थाको सञ्चालक तथा महाप्रबन्धक हुन नपाउने गरी कारबाही गरेको थियो ।  


    प्रतिक्रिया दिनुहोस