काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले निर्वाचन आयोगमा दर्ता हुने निर्णय गरेको छ ।
कपिलवस्तुको शिवगढीस्थित केन्द्रीय कार्यालयमा गएको मंसिर २७ गतेदेखि सुरु भएर हिजो (मंगलबार) सकिएको ९ औँ केन्द्रीय समितिको छैठौँ पूर्ण बैठकले पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय गरेको पोलिटब्युरो सदस्य सन्देश पौडेलले जानकारी दिए ।
‘२०८४ को निर्वाचनमा सहभागी हुनेगरी पार्टी दर्ता प्रक्रिया अघि बढाउने निर्णय केन्द्रीय समिति बैठकले गरेको छ,’ पौडेलले भने, ‘बैठकले वामपन्थी शक्तिहरुबीचको एकतासँगै ध्रुविकरणमा पनि जोड दिने निर्णय गरेको छ ।’
गत स्थानीय तह निर्वाचनमा पार्टीले स्वतन्त्र उम्मेदवार उठाए पनि जित्न सकेन । केन्द्रीय समितिले निर्वाचन क्षेत्रलाई केन्द्रमा राखेर पार्टीका काम अघि बढाउने निर्णयसमेत गरेको छ ।
‘चुनावलाई प्रयोग गर्दा अहिले नै मोर्चा, गठबन्धनको मानसिकतामा नअल्झेर एकल र स्वतन्त्र पहलमा जाने गरी गर्नुपर्दछ,’ महासचिव नेत्रविक्रम चन्दको पारित प्रतिवेदनमा भनिएको छ, ‘त्यसका लागि सबै वडा, पालिका, प्रदेश एवं संघका निर्वाचन क्षेत्रलाई केन्द्रमा राखेर कामलाई अगाडि बढाउनुपर्छ ।’
पार्टीले २०८४ को चुनावलाई लक्षित गरी उपयुक्त चुनाव चिह्न लिने निर्णयसमेत गरेको छ । २०८४ को चुनावलाई क्रान्तिको एक महत्त्वपूर्ण मोर्चाका रूपमा प्रयोग गर्ने नीतिसमेत उसले लिएको छ । ‘यसका लागि चुनावसम्बन्धी सारा पुराना मान्यतालाई सर्वप्रथम भत्काउनुपर्छ र नयाँ मान्यताहरुलाई आत्मसात् गर्नुपर्छ,’ बैठकले पारित प्रतिवेदनमा भनिएको छ, ‘हामीले चुनावलाई सोचभन्दा बाहिरबाट सञ्चालन गर्नुपर्दछ । त्यसको समाधान नै एकीकृत जनक्रान्तिभित्र चुनावलाई क्रान्तिको मोर्चाका रूपमा बुझेर प्रयोग गर्नु हो । मोर्चका रूपमा प्रयोग गर्दा के–के गर्न आवश्यक हुन्छ, त्यो सबै गर्नुपर्दछ ।’