आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • छायाँ सेन्टरको विवादमा सर्वोच्चको संयुक्त इजलास फैसला गर्नबाट पन्छियो


    हुलाक प्रेस

    • बिहीबार , पुस ४ २०८१०९:०३
    छायाँ सेन्टरको विवादमा सर्वोच्चको संयुक्त इजलास फैसला गर्नबाट पन्छियो

    काठमाडौं । दश वर्षदेखि सर्वोच्चमा विचाराधीन ठमेलको छायाँ सेन्टरको जग्गा विवादमा फैसला सुनाउनबाट सर्वोच्चको संयुक्त इजलास पन्छिएको छ।

    सिंह सार्थबाहु गुठीको करिब १५ रोपनी क्षेत्रफलमा बनेको छायाँ सेन्टर नामक अत्याधुनिक भवन भत्काउन माग गर्दै गुठियार तथा अधिवक्ताहरुले दायर गरेको १५ वटा रिट निवेदनमा सुनुवाइ सके पनि न्यायाधीश सारङ्गा सुवेदी र टेकप्रसाद ढुंगानाको इजलास फैसला सुनाउनबाट पन्छिएको हो।

    रिटहरुमाथि गत कात्तिक ७ गतेदेखि १३ गतेसम्म निरन्तर सुनुवाइ गरेर १६ गतेभित्र दुवै पक्षलाई लिखित बहस नोट पेश गर्न आदेश दिइएको थियो।

    आदेशअनुसार दुवै पक्षले बहस नोट पेश गरेर मंसिर २४ गते ‘निर्णय सुनाउने’ पेशी तोकिए पनि त्यो दिन फैसला सुनाइएन।

    त्यसपछि बिहीबारका लागि ‘निसु’ तोकिए पनि संयुक्त इजलासले रिटहरुको सुनुवाइ पूर्ण इजलास (तीन जना न्यायाधीश)बाट गर्न आदेश दिएका हुन्।

    छायाँ सेन्टर निर्माण सुरु भएसँगै विवाद सर्वोच्चमा पुगेर तत्कालै निरुपण हुनुपर्ने भए पनि भएन। र अहिले सुनुवाइको सम्पूर्ण प्रक्रिया पूरा गरेर फैसला सुनाउने बेलामा संयुक्त इजलास रिटहरु पूर्ण इजलास पठाउन आदेश गर्दै पन्छिएको हो।


    प्रतिक्रिया दिनुहोस