काठमाडौं । मंसिरसम्ममा नेपालले कुल ७ खर्ब ३५ अर्ब रुपैयाँको बैदेशिक ब्यापार गर्दा झण्डै ६ खर्ब रुपैयाँ ब्यापार घाटा व्यहोरेको छ। निर्यातभन्दा आयात धेरै हुँदा पाँच महिनामा नेपालले ५ खर्ब ८७ अर्ब रुपैयाँ बैदेशिक व्यापार घाटा व्यहोरेको हो।
चालु आर्थिक वर्षको पाँच महिनामा कुल ६ खर्ब ६१ अर्बको बस्तु आयात भएको छ भने ७३ अर्ब ६५ करोड रुपैयाँको मात्रै बस्तु निर्यात भएको छ। आयात र निर्यातमा ठूलो फरक हुँदा बैदेशिक ब्यापार घाटा बढ्दै गएको हो।
मंसिरसम्मको तथ्याँक हेदा निर्यात भने केहि बढ्दै गएको देखिन्छ। गत वर्षको तुलनामा यस वर्ष निर्यात १६.५४ प्रतिशतले बढेको छ जबकी आयात ३ प्रतिशतले मात्रै बढेको छ।
नेपालको कुल बैदेशिक ब्यापारमा आयातको हिस्सा ८९.९८ प्रतिशत छ भने निर्यातको हिस्सा बढेर १०.०२ प्रतिशत पुगेको छ। अघिल्ले वर्ष निर्यातको हिस्सा ८.९६ प्रतिशत मात्रै थियो।