काठमाडौं । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले मंगलबार साँझदेखि १०० मेगावट उत्पादन थाल्ने भएको छ ।
असोज दोस्रो साता आएको बाढीले क्षतिग्रस्त जलविद्युत् आयोजना मर्मत गरेर मंगलबार साँझबाट सञ्चालन ल्याउन लागिएको हो । ‘रिजर्भ पोखरी भरिरहेका छौं । एउटा डिसेन्डर तयार छ । अहिले पूजा गरिरहेका छौं,’ माथिल्लो तामाकोसी हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहन गौतमले भने, ‘सुरुङमार्ग भरिरहनुपर्ने छैन । १०० मेगावाट बेलुकीसम्म उत्पादन हुन्छ ।’
दुईवटा डिस्याण्डरमध्ये एउटा तयार भएको छ । उक्त डिस्याण्डर प्रयोग गरेर सुरुङमार्गमा पानी पठाइनेछ । यो अर्ध-जलाशय प्रकृतिको जलविद्युत् आयोजना हो । तर केहि समयका लागि नदी प्रवाही आयोजनाका रुपमा सञ्चालन गरिनेछ ।
गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको पहिरोले दोलखाको बिगु गाउँपालिका-१ लामाबगरस्थित माथिल्लो तामाकोसी जलविद्युत केन्द्रको बाँध क्षेत्रका संरचना (हेडवर्क्स)मा ठूलो क्षति पुर्याएको थियो । बाँधस्थलभन्दा केही तल दायाँतर्फ रहेको नियन्त्रण कक्ष (कन्ट्रोल रुम) भवन, बालुवा थिग्ग्रयाउने पोखरी (डिस्याण्डर) र बाँधबाट डिस्याण्डरसम्म पानी पुर्याउने भूमिगत नहर (कल्भर्ट) मा ठूलो क्षति पुगेको थियो ।
दुईवटा डिस्याण्डरमध्ये बायाँतर्फको डिस्याण्डरको मर्मतसम्भार आगामी पुस १० गतेभित्र सम्पन्न गरी विद्युत् उत्पादन सुरु गर्ने तालिका तय गरिएको हो । सोही तालिकामा कम्पनी सफल भएको छ ।
अविरल वर्षाका कारण तामाकोसी नदीमा पानीको बहाव उच्च भएपछि असोज ११ गते साँझ ७ बजेबाट विद्युत् उत्पादन उत्पादन बन्द गरिएको थियो । बाँधका सम्पूर्ण ढोका (गेट)हरु खुल्ला गरिएको थियो जसका कारण आयोजनाका संरचनाको सम्भावित क्षति रोकिएको थियो । बाढीले माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा १ अर्ब ८० करोड रुपैयाँ बराबरको क्षति पुगेको थियो ।