आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • पश्चिम नेपालमा दैनिक भुकम्पको धक्का, १८ दिनमा ११ पटक धक्का


    हुलाक प्रेस

    • शुक्रबार, पुस १९ २०८१०१:०९
    पश्चिम नेपालमा दैनिक भुकम्पको धक्का, १८ दिनमा ११ पटक धक्का

    काठमाडौं । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले पछिल्लो समय दिनहुँजसो भूकम्प/परकम्पको विवरण सार्वजनिक गरिरहेको छ । पुस महिना लागेयता शुक्रबार बिहानसम्म मात्र केन्द्रले ११ भूकम्प/परकम्पको विवरण सार्वजनिक गरेको छ ।

    यी ११ मध्ये सबैभन्दा ठूलो पुस ६ गते बाजुराको गोत्री आसपास केन्द्रविन्दु भएको ५.२ म्याग्निच्युडको भूकम्प थियो । सबैभन्दा सानो पुस १४ गते बिहान ५ बजेर ९ मिनेटमा कालीकोटको ओडानकु आसपास केन्द्रविन्दु भएको ३.६ म्याग्निच्युडको धक्का थियो । अरू नौ भूकम्प/परकम्प पनि ३.७ देखि माथि र ५ म्याग्निच्युडभन्दा मुनिका छन् ।

    केन्द्रले सार्वजनिक गरेको विवरणानुसार, पुस २ गते बझाङको धमेना आसपास केन्द्रविन्दु भएको ४.३ म्याग्निच्युडको धक्का मापन गरिएको थियो । पछिल्लो धक्का शुक्रबार (पुस १९) बिहान ८ बजेर २ मिनेटमा मुगुको लुमा आसपास केन्द्रविन्दु भएको ४.४ म्याग्निच्युडको छ ।

    यी ११ मध्ये १० धक्का पश्चिम नेपालमा मापन गरिएको हो । एउटा धक्का भने बिहीबार (हिजो) दिउँसो १ बजेर २ मिनेटमा सिन्धुपाल्चोकको माझीटार आसपास केन्द्रविन्दु भएको ४.८ म्याग्निच्युडको थियो ।

    नेपालमा हाल १.५ वा २ म्याग्निच्युडदेखि माथिका भूकम्प मापन हुन्छ । त्यसका निम्ति देशभर ४२ स्टेसन छन् । केन्द्रले सबै धक्काको विवरण सार्वजनिक गर्दैन । अर्थात्, केन्द्रले ४ आसपास वा त्यसदेखि माथिका भूकम्प/परकम्पको विवरण मात्र सार्वजनिक गर्दै आएको छ । त्यसो त केन्द्रले गएको मंसिर ६ गते राति १० बजेर ४६ मिनेटमा काठमाडौंको कीर्तिपुर आसपास केन्द्रविन्दु भएको २.६ म्याग्निच्युडको धक्काबारे पनि जानकारी गराएको थियो ।


    प्रतिक्रिया दिनुहोस