बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • आगामी शुक्रबार नेपाल भारत वाणिज्य सचिवस्तरीय बैठक, के के छन बैठकका एजेण्डा ?


    हुलाक प्रेस

    • शनिबार, पुस २० २०८१०५:५१
    आगामी शुक्रबार नेपाल भारत वाणिज्य सचिवस्तरीय बैठक, के के छन बैठकका एजेण्डा ?

    काठमाडौं । नेपाल भारत वाणिज्य सचिवस्तरीय संयन्त्र (आईजीसी) को बैठक आगामी शुक्रबारदेखि राजधानीमा बस्ने भएको छ । यो बैठक दुई दिनसम्म हुनेछ ।

    सरकारले केही महीनादेखि ब्युरो अफ इन्डियन स्ट्यान्डर्ड (बीआईएस) प्रमाणपत्र दिन भारतले ढिलाइ गर्दा नेपाली वस्तुको भारत निर्यातमा देखिएको अवरोध हटाउनेदेखि दुई देशबीचको व्यापार सन्धि संशोधनसम्मको एजेण्डा उक्त बैठकमा भारतसामु राख्ने तयारी गरेको छ ।

    केही महीनादेखि भारतले जुत्ता, सिमेन्ट, प्लाइउड, जस्तापाता र सेनिटरी प्याडजस्ता नेपालमा उत्पादित सामान आयात गर्न ब्युरो अफ स्ट्यान्डर्ड (बीआईएस) प्रमाणपत्र अनिवार्य गरेको छ ।

    तर, उक्त प्रमाणपत्र दिन वा नवीकरण गर्न ढिलाइ गरिदिनाले नेपालका उत्पादनहरूको भारत निर्यात प्रभावित भएको छ । यसबाट नेपालको सिमेन्ट निर्यातमा व्यापक कमी आएको छ भने लोकप्रिय गोल्डस्टारलगायत जुत्ता निर्यात पनि प्रभावित भयो ।

    ‘एक अर्को देशको गुणस्तर प्रमाणीकरण गर्ने निकायले जारी गरेको गुणस्तर प्रमाणपत्रलाई मान्यता दिन सहमति गर्ने कुरा भएको छ,’ मन्त्रालयका सहसचिव बाबुराम अधिकारीले भने, ‘अहिले नेपाली निर्यातकर्ताले बीआईएस प्रमाणपत्र लिनुपर्छ, तर हामीले गुणस्तर तथा नापतौल विभागले दिने गुणस्तर प्रमाणपत्रलाई मान्यता दिन आग्रह गर्ने हो ।’

    कृषि वस्तुको हकमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको गुणस्तर प्रमाणपत्रलाई मान्यता दिन आग्रह गर्ने कुरा भएको छ ।

    ‘हामीले एजेन्डालाई अन्तिम रुप दिइसकेका छैनौं, तर यी एजेन्डाहरू उठाउने कुरा भएको छ,’ उनले भने । भारतसँग नेपालको बढ्दो व्यापार घाटालाई सम्बोधन गर्न दुई देशबीचको व्यापार सन्धि पुनरवलोकन गर्न पनि नेपालले प्रस्ताव गर्ने योजना बनाएको छ ।


    प्रतिक्रिया दिनुहोस