काठमाडौं । बुद्ध एयर प्रा. लि ले सर्वोच्च अदालत बार एशोसिएसनमा स्थापना गरेको यस वर्षको ‘स्व. सुरेन्द्र बहादुर बस्नेत सम्मान पुरस्कार’बाट बरिष्ठ अधिवक्ता तथा पूर्व महान्यायधिवक्ता बद्रीबहादुर कार्की सम्मानित भएका छन् ।
हरेक दुई वर्षमा नेपालमा कानुन तथा न्यायको क्षेत्रमा सुधार,अन्वेषणलगायत विशिष्ट योगदान पु¥याउने व्यक्तिलाई पुरस्कृत गर्ने उद्देश्यले गत वर्षबाट मात्रै बुद्ध एयरले तीन लाख रुपैयाँ राशीको पुरस्कार स्थापना गरेको थियो ।
‘स्व. सुरेन्द्र बहादुर बस्नेत सम्मान पुरस्कार’का लागि बनेको पुरस्कार समितिमा सर्वोच्च अदालत बार एशोसिएसनका अध्यक्ष शिवशंकर निरौला, बरिष्ठ अधिवक्ता पूर्णमान शाक्य र बुद्ध एयरका तर्फबाट कानुनी सल्लाहकार सन्तोष कुमार महतोसमेत रहेको समितिले बरिष्ठ अधिबक्ता बद्रीबहादुर कार्कीलाई दिने पुरस्कार प्रदान गर्ने सिफारिस गरेको हो ।
तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पालामा कार्की २०५५ जेठ १ गतेदेखि २०५८ चैत २२ सम्म महान्यायाधिबक्ता भएका थिए । अनवरत रुपमा न्यायको क्षेत्रमा लागेका कार्कीको योगदानको कदर गर्दै उनलाई सम्मान गरिएको हो । २०३४ सालमा अधिबक्ता भएका काकी २०६५ सालमा बरिष्ठ अधिबक्ता भएका थिए ।
गत वर्ष मात्रै तीन लाख रुपैयाँ राशीको पुरस्कार स्थापना सम्बन्धी सम्झौतामा बुध्द एयर प्रालिका तर्फबाट कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेत तथा सर्वोच्च अदालत बार एसोसिएसनको कार्यसमितिको तर्फबाट सचिव अधिवक्ता श्याम कुमार खत्रीले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।
पुरस्कारका लागि बुध्द एयरले २५ लाखको अक्षय कोषको स्थापना गरेको छ । यसबाट प्राप्त हुने ब्याज रकमबाट हरेक दुई वर्षमा एकजना व्यक्तिलाई सम्मान गर्न लागेको हो । बुध्द एयरले पहिलो वर्षका लागि थप पाँच लाख रुपैयाँ रकम पनि प्रदान गरेको छ ।
को हुन् बुद्ध एयरका संस्थापक अध्यक्ष बस्नेत ?
स्वर्गीय सुरेन्द्रबहादुर बस्नेत बुध्द एयरका संस्थापक अध्यक्षका साथै सर्वोच्च अदालतका पूर्व न्यायाधीश हुन् । निर्वाचन आयोगको प्रथम प्रमुख आयुक्त तथा नेपाल प्रेस काउन्सिलको संस्थापक अध्यक्ष समेत भएका थिए । बस्नेतले २०२७ देखि २०२९ सम्म प्रेस काउन्सिल नेपालको पहिलो अध्यक्षको रूपमा काम गरेका थिए । प्रेस काउन्सिलमा रहँदा बस्नेतले ‘मिसन पत्रकारिता’ गरिरहेका पत्रिकाको अनुगमन गरी मर्यादित र जिम्मेवार बनाउन भूमिका खेलेका थिए ।
भोजपुरको दिंगलास्थित साल्मामा विक्रम संवत् १९८४ साल साउन २७ गते जन्मिएका बस्नेत बनारस हिन्दु विश्वविद्यालयबाट एमए र एलएललबी अध्ययन गरी नेपाल सरकारको विभिन्न उच्च ओहोदामा रहेर काम गरेका थिए । उनी कानुन तथा न्याय, शिक्षा मन्त्री (२०२४) र अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री (२०२५) पनि भएका थिए ।
बस्नेतले वनारस हिन्दू विश्वविद्यालय (बिएचयू) बाट बिएस्सी, एमए÷एलएलबीको अध्ययन गरेका थिए । त्यसअघि बस्नेतले विराटनगरबाट हाइस्कुलसम्मको शिक्षा लिएका थिए । देशैभर उच्च शिक्षा अध्ययन गरेका व्यक्ति निकै कम रहेका वेला उनले एमएसम्म अध्ययन गरेका थिए । उनको पारिवारिक पृष्ठभूमि पनि शिक्षित थियो ।
बस्नेतका भाइ–भतिजहरूले पनि वनारसबाट स्नातकसम्मको अध्ययन पूरा गरेका थिए । बस्नेत राजा महेन्द्रको लालमोहर पाएर २०२१ सालमा तीन वर्षका लागि सर्वोच्च अदालतको न्यायाधीश भएका थिए । तर, एक वर्ष ११ महिना मात्रै सर्वोच्चमा रहे । २०२१ सालअघि बस्नेत मोरङ जिल्ला पञ्चायतको सभापति थिए ।
राजनीति र कृषिमा मात्रै होइन, नेपाल र नेपालीलाई हवाई सेवाको सहज पहुँचमा पुर्याउन सुरेन्द्रबहादुर बस्नेतले ठूलो योगदान खेलेका छन् । ७० वर्षको उमेरमा बस्नेतले स्थापना गरेको बुद्ध एयरले सन् १९९७ अक्टोबर ११ मा पहिलो व्यावसायिक उडान गरेको थियो । त्यसअघि निजी क्षेत्रबाट खुलेका विमान कम्पनी छोटो समय चल्ने र बन्द हुने गरेका थिए । प्रतिस्पर्धा नभएका कारण हवाई यात्रामा धनीमानीको मात्रै पहुँच थियो । पैसा तिर्न सक्नेका लागि पनि टिकट पाउन हम्मेहम्मे पथ्र्यो । सरकारी निकायका उपल्लो ओहोदाका कर्मचारी र नेताको भनसुनका आधारमा हप्तौँ कुर्दा बल्ल टिकट मिल्थ्यो ।
बुद्ध एयरको आगमनसँगै हवाई यात्रामा प्रतिस्पर्धा बढ्यो । कम्पनीले सबैको पहुँच हुने गरी भाडादर निर्धारण गर्यो । सस्तो, सुविधायुक्त र सुरक्षित सेवा दिएकै कारण छोटो समयमै बुद्ध एयर पहिलो रोजाइको विमान कम्पनी बन्यो । अहिले बुद्धले वार्षिक ३० लाख यात्रुलाई सेवा दिइरहेको छ । अहिले आफ्नै ह्याङगरका साथै १६ वटा विमानसहितको निजी क्षेत्रकै ठूलो विमान कम्पनीको नेतृत्व उनका छोरा वीरेन्द्रबहादुर बस्नेतले गरिरहेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांकअनुसार हाल आन्तरिक उडानमा बुद्धको मात्रै ५६ प्रतिशत हिस्सा छ । एउटा जहाज र ९९ कर्मचारीबाट हवाई उडान सुरु गरेको बुद्ध एयरसँग अहिले १५ सयजना कर्मचारी छन् ।