बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • बुध्द एयरले १ वर्षमा साढे २६ लाखलाई सेवा दियो


    हुलाक प्रेस

    • आइतबार, पुस २८ २०८११०:३६
    बुध्द एयरले १ वर्षमा  साढे २६ लाखलाई सेवा दियो

    काठमाडौं । आन्तरिक उडानको अग्रणी वायुसेवा कम्पनी बुध्द एयरले पछिल्लो एक वर्ष (सन् २०२४)मा २६ लाख ४८ हजार यात्रुलाई सेवा दिएको छ ।

    आन्तरिक हवाई यात्रु तीन लाखले बढ्दा बुध्द एयरको उपस्थिति भने खुम्चिन पुगेको छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फबाट बुध्द एयरले पछिल्लो एक वर्षमा दिएको यस्तो यात्रु सेवा अघिल्लो वर्ष सन् २०२३ को तुलनामा बढेको भए पनि बजार हिस्सा भने करिब तीन प्रतिशतले घटेको छ । यो अवधिमा बुध्द एयरको बजार हिस्सा ६२.१० प्रतिशतबाट घटेर ५९.२४ प्रतिशतमा झरेको हो ।

    बुध्द एयरले सन् २०२४ मा दिएको यात्रु सेवा अघिल्लो वर्ष २०२३ को तुलनामा ७१ हजार ४६ जना बढी देखिएको छ । यो यात्रु सेवाको सख्ंया भने अघिल्लो वर्षको तुलनामा सन् २०२४ मा २.७५ प्रतिशतले बढेको देखिएको छ । बुध्दले यात्रु उडान संख्या बढाउन सफल भएको, कुल आन्तरिक उडानका यात्रुको संख्या बढेको भए पनि समग्रमा बजारमा आफ्नो उपस्थिति भने २.८६ प्रतिशतले घटेको देखिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले सार्वजनिक गरेको सन् २०२४ को हवाई उडानको तथ्यांकले देखाएको छ ।

    तथ्यांकअनुसार यात्रु सेवाको संख्या बढ्दासमेत बुध्द एयरको बजार हिस्सा भने घट्न पुगेको हो । समग्रमा आन्तरिक उडानका हवाई यात्रुको संख्या भने तीन लाख २० हजार ४८५ ले बढेको छ । सन् २०२४ मा आन्तरिक उडानका वायुसेवा कम्पनीहरुले दिएको यात्रु सेवा ४४ लाख ७० हजार ८११ छ । यो संख्या हेलिकप्टर कम्पनीले गरेको उडान संख्या ५४ हजार ८२७ यात्रु समेत हो ।

    आन्तरिक उडानमा बुध्द एयरको यात्रु उडान संख्या बढेको र जहाज संख्यासमेत बढेर १८ वटा छ । अरु आन्तरिक उडानका वायुसेवाको तुलनामा सेवा र सुविधामा एकल पकड बनाउन सकेको भए पनि पछिल्लो समय अरु एयरलाइन्सको सेवा विस्तार बढेका कारण बुध्द एयरको बजार हिस्सा घटेको हो ।

    बुध्द एयरको यस्तो यात्रु सेवा २०२२ मा भने २४.८१ प्रतिशतले बढेको भए पनि सन् २०२३ र २४ मा भएको यात्रु सेवाको वृद्धिदरसमेत घटेको छ ।


    प्रतिक्रिया दिनुहोस