काठमाडौं । बिहीवार सिंहदरवारमा बसेको मन्त्रीपरिषद्को बैठकले एनसेल प्रकरण छानविनको लागि समिति गठन गर्नेदेखि खानेपानी तथा महसुल निर्धारण आयोगको अध्यक्ष नियुक्त गर्नेसम्मका निर्णय गरेको छ ।
बैठकले सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा अध्ययन तथा छानविनका लागि पूर्वमहालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा पाँच सदस्यीय उच्चस्तरीय अध्ययन तथा छानविन समिति गठन गर्ने निर्णय गरेको हो ।
समितिमा सरकारका सचिव फणिन्द्र गौतम, अर्थ मन्त्रालयका सहसचिव रितेशकुमार शाक्य, सञ्चार मन्त्रालयका सहसचिव बाबुराम भण्डारी र आईसीएनका अध्यक्ष सुजनकुमार काफ्ले सदस्य छन् ।
यसैगरि बैठकले खानेपानी तथा महसुल निर्धारण आयोगको रिक्त अध्यक्ष पदमा रुद्रप्रसाद गौतमलाई तथा सदस्य पदमा यशोदा कार्की र कुलभुषण शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ ।
आज बसेको बैठकले विश्व बैंकबाट ‘प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम पहिलो चरण’को लागि प्राप्त हुने सहायता सम्बन्धी वार्ता गर्नका लागि अर्थमन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गरी वार्ता गर्न अख्तियारी दिने निर्णय गरेको छ ।