काठमाडौं । हिमाल मिडियाका सञ्चालक कनकमणि दीक्षितले शसस्त्र द्धन्द्धका क्रममा म्याग्दीको बेनी आक्रमणमा गोली लागेको बिजुलीको पोल फिर्ता गरेका छन् ।
उनले म्याग्दी पुगेका बेला २०६७ साल असोजमा गोली लागेको पोल पाटनमा ल्याए राखेका थिए । शसस्त्र द्धन्द्धका क्रममा गोली लागेको पोलले त्यति बेला माओवादी र तत्कालीन शाही नेपाली सेनाको युद्धको झल्को दिन्थ्यो ।
म्याग्दीको सदरमुकाम बेनीमा तत्कालीन माओवादी र नेपाली सेनाबिच २०६० चैत ७ गते भएको भिडन्तमा दुवै पक्षको गोली लागेर छिया छिया भएको बिजुलीको पोल म्याग्दी फिर्ता पठाएका हुन् ।
बिहीबार दीक्षितले बेनी नगरपालिकाका प्रतिनिधिलाई सो पोल हस्तान्तरण गरेका हुन् । शुक्रवार दीक्षितले सामाजिक सञ्जालमा ‘बेनीको खम्बा घर फर्कँदै’ शीर्षकमा सो पोल बेनी नगरपालिकालाई हस्तान्तरण गरेको विवरण राखेका छन् । पाटनको मदन पुरस्कार पुस्तकालय हाताभित्र राखिएको उक्त बिजुलीको पोल फिर्ता गराउन म्याग्दीको नगरपालिका, राजनीतिक दल, अधिकारकर्मी र नागरिक अधिकारकर्मीले पटक पटक आग्रह गर्दै आएका थिए ।