आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • विपिनको रिहाइका लागि परराष्ट्रमन्त्रीद्वारा इरानका विदेशमन्त्रीसँग फोनवार्ता


    हुलाक प्रेस

    • शुक्रबार, माघ २५ २०८१११:३१
    विपिनको रिहाइका लागि परराष्ट्रमन्त्रीद्वारा इरानका विदेशमन्त्रीसँग फोनवार्ता

    काठमाडौँ । हमास अतिवादी समूहको नियन्त्रणमा रहेका नेपाली युवक विपिन जोशीको रिहाइको कूटनीतिक पहलस्वरुप परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले इस्लामिक गणतन्त्र इरानका विदेशमन्त्री सय्यद अब्बास अराघ्चीसँग फोनवार्ता गरेकी छन् ।

    हमासको नियन्त्रणमा रहेका जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गर्दै मन्त्री डा राणाले गए राति इरानी विदेशमन्त्री अराघ्चीसँग कुराकानी गरेकी हुन् ।

    त्यस अवसरमा विदेशमन्त्री अराघ्चीले हमासका अधिकारीहरूसँग अब हुने बैठकमा आफूले जोशीको रिहाइको मुद्दा प्राथमिकताका साथ उठाउने आश्वासन दिएको परराष्ट्रमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

    इजरायल सरकार र हमासबीच युद्धविराम भएपछि आफ्ना नियन्त्रणमा रहेका बन्दीहरुलाई हमासले मुक्त गर्न थालेको छ । हमासको नियन्त्रणबाट जोशीलाई मुक्त गर्न सरकारले कूटनीतिक पहल जारी राखेको छ ।

    यसक्रममा मन्त्री डा देउवाले अघिल्लो साता इजिप्टका विदेशमन्त्रीसँग पनि टेलिफोनवार्ता गरी जोशीको मुक्तिका निम्ति सहयोग गर्न आग्रह गरेकी थिइन्।

    इजरायल सरकार र हमासबीच युद्धविरामको प्रयास भएदेखि नै मन्त्री डा देउवाले हमाससँगको शान्तिवार्ताका लागि मध्यस्थता गरिरहेका कतार र इजिप्टसँग जोशीको रिहाइका लागि विशेष पहल गरिदिन आग्रह गरिरहेकी छन् ।


    प्रतिक्रिया दिनुहोस