काठमाडौं । देशका केही भूभागमा आज हिमपातको सम्भावना रहेको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको हो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोसी, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा छ ।
मध्य र पूर्वी तराईका केही भूभागमा हुस्सु र कुहिरो लागेको छ । विभागले दिउँसो कोसी, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली हुने जनाएको छ ।
कोसी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले बताएको छ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।