बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सिभिल सहकारी ठगीमा पुर्पक्षमा थुनामा रहेका व्यवसायी इच्छाराजको मुद्दा न्यायाधीश ढुंगना र पाण्डेयको इजलासमा सुनुवाइ शुरु


    हुलाक प्रेस

    • शुक्रबार, फागुन २ २०८१११:१७
    सिभिल सहकारी ठगीमा पुर्पक्षमा थुनामा रहेका व्यवसायी इच्छाराजको मुद्दा न्यायाधीश ढुंगना र पाण्डेयको इजलासमा सुनुवाइ शुरु

    काठमाडौँ । सिभिल सहकारी ठगी आरोपमा थुनामा रहेका व्यवसायी तथा पूर्वसांसद इच्छाराज तामाङ धरौटीमा रिहा हुनुपर्ने माग गर्दै परेको निवेदन सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुङ्गाना र नित्यानन्द पाण्डेयको इजलासमा सुनुवाइ शुरु भएको छ ।

    सर्वोच्चमा २५ माघ २०८० मा दर्ता भएको तामाङको निवेदनमाथि करिब एक वर्षपछि सुनुवाइको पालो आएको हो । उनी एक वर्षदेखि धरौटीमा छुट्ने आशमा सर्वाेच्चमा पेसी धाइरहेका छन् ।

    सिभिल सहकारी मार्फत बचतकर्ताको ४६ करोड रुपैयाँ ठगी गरेको आरोपमा जिल्ला अदालत काठमाडौँ र उच्च अदालत पाटनले पुर्पक्षका लागि थुनामा पठाएको थियो । तामाङलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले २०७८ असोजमा पक्राउ गरेको थियो । पक्राउ गरेपछि उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतमा सहकारी ठगी र किर्तेसहितका मुद्दा दायर भएको थियो । जिल्ला अदालतले सहकारीका बचतकर्ताको ठुलो रकम हिनामिना गरेकाले धरौटीमा छोड्न नसकिने भनी पुर्पक्षका लागि उनलाई थुनामा पठाएको थियो ।

    काठमाडौँ जिल्ला अदालतमा मुद्दा चलिरहँदा तामाङले न्यायाधीशलाई घुस दिने प्रयाससमेत गरेका थिए । उनले जिल्ला न्यायाधीशसँग कानुन व्यवसायी मार्फत घुसको डिल गरेको कुरा सार्वजनिक भएको थियो । 

    सिभिल ग्रुपका अध्यक्ष रहेका तामाङ एमालेबाट संविधान सभा सदस्यसमेत बनेका थिए । तत्कालीन समयमा संसद्को अर्थ समितिमा बसेर उनले बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक (बाफिया), २०७२ मा आफ्नो स्वार्थअनुकूल एक दर्जनभन्दा बढी संशोधन हालेर लबिङसमेत गरेका थिए ।

    आफैँ बैक तथा वित्तीय संस्थाको सञ्चालक रहेर स्वार्थ बाझिने कानुन निर्माण गरेको भनी त्यतिबेला विवादसमेत भएको थियो । समितिले चलखेलका आधारमा पास भएको विधेयक फेरि फर्केर संशोधन भएको थियो । उक्त विधेयक अहिले फेरि संसदमा संशोधनका लागि आएको छ ।

    सिभिल होम, सिभिल अपार्टमेन्ट, सिभिल क्यापिटल मार्केट, सिभिल बैंक, सिभिल रियल इस्टेट, सिभिल इन्टरनेशनल कन्सल्ट्यान्ट, सिभिल ट्रेडिङ, सिभिल बिजनेश कम्प्लेक्स र सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी लिमिटेड तामाङकै नेतृत्वमा थियो ।

    सिभिल ग्रुपका विभिन्न संस्था र कम्पनीमा बचत रकम जम्मा गरेका ३२ सय सर्वसाधारणको ७ अर्ब रुपैयाँभन्दा बढी रकम डुबाएर उनी फरार थिए । उनले सबैभन्दा धेरै ठगी सिभिल सहकारीबाटै गरेका थिए ।

    तामाङले सिभिल ग्रुपअन्तर्गतकै सिभिल होम्स प्रालिलाई सहकारीमार्फत ८ अर्ब १ करोड ३७ लाख ११ हजार २११ रुपैयाँ ३७ पैसाभन्दा बढी रकम प्रवाह गरेका थिए । सहकारीका बचतकर्तालाई उनले बाउन्स चेक दिँदै झुलाउने गरेका थिए । तर पीडितहरूले रकम नै नपाएपछि प्रहरीमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा प्रहरीले मुद्दा चलाउन उनलाई पक्राउ गरेको थियो ।

    सिभिल समूहको लगानीमा रहेको सहकारीले आफ्नै हाउजिङ कम्पनीलाई ८० प्रतिशतभन्दा बढी ऋण गैरकानुनी रूपमा प्रवाह गरी संस्थालाई धराशायी बनाएपछि बचतकर्ता र सेयर सदस्य अदालत पुगेका थिए । हालसम्म बचतकर्ताले आफ्नो रकम फिर्ता पाएका छैनन् ।

    सम्पत्ति शुद्धीकरणमा पनि दोषी ठहर

    व्यवसायी तामाङ सम्पत्ति शुद्धीकरणमा भने विशेष अदालतबाट दोषी ठहर भएका छन् । २०८० माघ ८ गते विशेष अदालतले सवा तीन अर्ब रुपैयाँभन्दा धेरै सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा पूर्वसांसद तामाङ दोषी ठहर हुने फैसला सुनाएको थियो ।

    विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले उक्त फैसला सुनाएको थियो । तामाङसँगै उनकी श्रीमती सिर्जना शाक्य तामाङ र केशवलाल श्रेष्ठ पनि दोषी ठहर भएका थिए । इच्छाराजका दुई छोरी प्रतीक्षा र प्रतिष्ठाले भने सफाइ पाएका थिए ।

    सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले ०७९ भदौ १६ मा इच्छाराजविरुद्ध तीन अर्ब ३१ करोड ८५ लाख रुपैयाँभन्दा बढी सम्पत्ति शुद्धीकरण गरेको अभियोग दायर गरेको थियो । त्यस्तै, उनकी श्रीमती सिर्जनासँग एक अर्ब तीन करोड रुपैयाँभन्दा बढी बिगो मागदाबी गरिएको थियो ।

    इच्छाराज तामाङका नाममा एक कित्ता जग्गा तथा ६९ वटा कम्पनीमा सेयर भेटिएको थियो । सिर्जनाका नाममा भने एउटा सवारीसाधन र कसुरबाट आर्जित जग्गा भेटिएको थियो । विभागले प्रतीक्षा र प्रतिष्ठालाई क्रमशः ६ करोड २२ लाख तथा एक करोड ८९ लाख रुपैयाँभन्दा बढीको बिगोसहित मुद्दा चलाएको थियो । त्यस्तै, इच्छाराजले अपराधबाट आर्जन गरेको २६ करोड ६१ लाख रुपैयाँभन्दा बढीको सम्पत्ति केशवलालको नाममा राखिएको विभागको अनुसन्धानले देखाएको थियो ।

    मीनाकुमारी श्रेष्ठका नाममा भने काठमाडौँका विभिन्न स्थानमा ७ कित्ता जग्गा भेटिएको थियो । यही कारण तामाङसँगै उनकी श्रीमती सिर्जना शाक्य तामाङ र केशवलाल श्रेष्ठ पनि दोषी ठहर भएका थिए ।


    प्रतिक्रिया दिनुहोस