काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले २०८२ साल असार मसान्तभित्र सर्वोच्च अदालतमा ८ वर्ष नाघेका मुद्दाको संख्या शून्यमा झार्ने घोषणा गरेका छन्।
बिहीबार सर्वोच्च बार एशोशिएशनको ५१ औँ स्थापना दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले सर्वोच्च अदालतमा आठ वर्ष नाघेका मुद्दाहरु हजारौंको संख्याबाट घटाएर ७८ थान मात्र बाँकी रहेको बताए।
उनले बाँकी ७८ थान मुद्दासमेत आउँदो वर्षको असार मसान्तसम्म शून्यमा झार्ने बताए। पाँच वर्ष नाघेका मुद्दाहरुसमेत २०८३ सालसम्म शून्यमा झार्ने लक्ष्य राखिएको उनको भनाइ थियो।
उनले अहिले सर्वोच्चमा पाँच वर्ष नाघेका मुद्दाको संख्या दुई हजार चार सय रहेको समेत उल्लेख गरे। उनले सर्वोच्चबाट फैसला हुने आदेश र फैसलाहरुमा सशक्त टिप्पणी गर्नसमेत कानून व्यवसायीहरुलाई आग्रह गरे। उनले आदेशप्रति आग्रह पूर्वाग्रह नराखि टिप्पणी गर्न अनुरोध गरे।
प्रधानन्यायाधीश राउतले कानून व्यवसायीहरुसँग भएको ज्ञान र क्षमाता कानून निर्माणको क्षेत्रमा सम्प्रेषण हुन नसकेको बताए। उनले कानून बनाउँदा कानून व्यवसायी र संसदबीच पर्याप्त छलफल नहुँदा अन्यायपूर्ण र दोषपूर्ण कानून बन्ने गरेको उल्लेख गरे।