बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • तापक्रम माइनसमा झरेसँगै हुम्लामा जनजीवन प्रभावित


    हुलाक प्रेस

    • आइतबार, मंसिर २४ २०८०१०:५७
    तापक्रम माइनसमा झरेसँगै हुम्लामा जनजीवन प्रभावित
    फाइल तस्बिर

    सिमकोट (हुम्ला)।  हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा भएको हिमपातले जनजीवन प्रभावित बनेको छ । पानीको धारामा बरफ जम्न थालेको छ भने तापक्रम माइनसमा झरेको छ ।  

    स्थानीय उपेश भण्डारीले दिउँसो घाम लागेपछि मात्रै जमेको पानी बिलाउने गरेको बताए  । यस वर्ष हिउँदयाममा पनि हिल्सामा होटल व्यवसायी बस्दै आएका छन् भने साथै सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका सुरक्षाकर्मी रहँदै आएका छन् । हिल्सामा बिओपी स्थापना भएसँगै केही वर्षअघिदेखि सशस्त्र प्रहरी बल बाह्रै महिना सीमा सुरक्षामा खटिदै आएको छ ।

    पुस र माघ दुई महिना हुम्लामा अत्यधिक हिमपात हुनुका साथै तापक्रम माइनस १५ डिग्रीभन्दा बढी हुने गर्दछ । तापक्रम माइनसमा झरेसँगै चिसो बढेकाले पानीका धारामै बरफ जम्न थालेको हो । जिल्लामा यतिबेला बिहान र रातिको समय तापक्रम माइनस १० डिग्रीसम्म पुग्ने गरेको छ । चिसोमा सुरक्षित भएर बस्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।

    हिमपातले लिमी आवतजावत बन्द

    गत सोमबारको हिमपातपछि नाम्खा गाउँपालिका–६ स्थित लिमी आवतजावत बन्द भएको छ । हिमालपारिको गाउँले चिनिएको लिमी जाने नारा र न्यालु लेकमा बाक्लो हिउँ जमेको जनाइएको छ ।  लिमीका स्थानीय निमा तामाङले  बाक्लो हिमपातको कारण लिमी आवत जावत बन्द भएको जानकारी दिए । 

    उनका अनुसार लिमी जाने चार हजार छ सय मिटर अग्लो नारा लेक र पाँच हजार मिटर अग्लो न्यालु लेकमा बाक्लो हिमपात भएको छ ।  लिमीका स्थानीयसँग सम्पर्क गर्ने माध्यम फोन भएको छ । लिमीका वडाध्यक्ष पाल्जोर तामाङले नारा र न्यालुमा तीन फिट हिउँ जमेकाले जानकारी दिए । 


    प्रतिक्रिया दिनुहोस