काठमाडौँ । नेपाली काँग्रेस निकट वकिलहरूको संगठन डेमोक्र्याटिक लयर्स एशोसिएशन (डिएलए)ले नेपाल बारको चुनावमा उम्मेदवार हुन चाहनेले नाम टिपाउने समय बिहीबारसम्मका लागि थप गरेको छ।
आउँदो चैत्र २३ गते हुने चुनावमा संगठनको तर्फबाट उम्मेदवार हुन चाहेको लर्को लागेपछि डिएलएले उम्मेदवार छनोट समिति नै गठन गरेर औपचारिक रुपमा निवेदन लिएको हो। यसअघि मंगलबारसम्म मात्रै दिइएको समय दुई दिनका लागि थप गरिएको हो।
छनोट समितिका सदस्य सचिव अधिवक्ता ज्ञानेन्द्र अधिकारीका अनुसार बुधबारसम्म बारको अध्यक्ष हुन तीनजना वरिष्ठ अधिवक्ताहरूले आवेदन दिएका छन्। जसमा यदुनाथ खनाल, योगेन्द्र अधिकार र विजय मिश्रले बार अध्यक्षको उम्मेदवार हुने इच्छा जाहेर गरेका हुन्।
डिएलए उम्मेदवार हुनेको संख्या कम गर्न आवेदन दिँदा नै शुल्क बुझाउनुपर्ने व्यवस्था गरेको छ। तर कुन पदका लागि इच्छुकले कति शुल्क बुझाउनुपर्ने भन्ने कुरा अधिकारीले खुलाउन चाहेनन्।
सूचनामा भनिएको छ, ‘उम्मेदवारीको इच्छा जाहेर दर्ताको आवश्यक प्रक्रिया तथा दस्तुरका सम्बन्धमा उम्मेदवार छनौट समितिको कार्यालय, डिएलए नेपाल, थापाथली, काठमाडौंबाट जानकारी प्राप्त गर्न सकिनेसमेत अनुरोध गर्दछु ।’