आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • संसदमा रास्वपा र कांग्रेसबीच आरोप प्रत्यारोप भएको जग्गा प्रकरण के हो ?


    हुलाक प्रेस

    • बुधबार, फागुन २८ २०८१०९:३६
    संसदमा रास्वपा र कांग्रेसबीच आरोप प्रत्यारोप भएको जग्गा प्रकरण के हो ?

    काठमाडौं । बुधबार संघीय संसद् प्रतिनिधिसभाको शून्य समयमा रास्वपा सांसद शिशिर खनाल र सुमना श्रेष्ठले एउटै विषय उठाए । 

    सुरुमा शिशिर खनालले हालको तारकेश्वर–९ साविक मनमैजु नगरपालिकाको सरकारी जग्गा कांग्रेस नेताले कब्जा गरेको भन्ने अरोप लागेको बताए । 

    खनालले भने, “..नेपाल सरकारको नाममा रहेको नेवार समुदायको चिहान रहेको जग्गा कित्ता नम्बर ६२ र ६३ नेपाली कांग्रेस नेताले कब्जामा लिई भोगचलन गर्दै आइरहेको र स्थानीयवासीको गुनासो र उजुरीका बाबजुद स्थानीय सरकारले कुनै पहल नगरेको आमगुनासो छ ।” 

    खनालले त्यसो भनिसक्दा नै नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले आपत्ति जनाए र उनले पार्टीलाई बदनाम गर्न नपाइने भन्दै व्यक्तिको नाम खुलाउन माग गरे ।  तर, उनलाई व्यक्तिको नाम नतोकेको भन्दै आसन ग्रहण गर्न सभामुखले आग्रह गरे र बोल्न रोके । उनी बस्न बाध्य भए । 

    त्यसको केही बेरपछि लेखेर राखेको उही व्यहोराको विषय रास्वपा सांसद सुमना श्रेष्ठले उठाइन् । कांग्रेस सांसदहरुले त्यसमा आपत्ति जनाउँदै कसले सरकारी जग्गा कब्जा गरेको हो ? खुलाउन माग गरे । कांग्रेस  सचेतक सुशीला थिङ, सांसदहरु राजेन्द्र केसी, देवप्रसाद तिमिल्सना र राजेन्द्र बजगाईँलगायतका सांसद पुनः उठेर विरोध गर्दै समय मागे । 

    उनीहरुले ‘कुन नेताले गरे’ ? भन्दै नाम तोक्न माग गरे । सभामुखले कुनै नेताको नाम नलिइएको भन्दै सदनमा लाञ्छना लगाएर बहस नटुंगिने बताए ।

    “लाञ्छना हो कि होइन भन्ने पक्ष–विपक्ष भएर बोलेर टुंगिदैन,” सभामुख घिमिरेले भने । सभामुखको रुलिङपछि कांग्रेस सांसदहरु बसे र बैठक सञ्चालन भयो । बैठक संचालन भए पनि संसदमा सांसदले उठाएको सरकारी जग्गा पार्टीका नेता विशेषले कब्जा गरेको विषय सेलाउने कुरा भएन । 

    कांग्रेसले नाम खुलाउन माग गरेको विषय सांसदहरुले संसदमा नखुलाए पनि सामाजिक सञ्जालमा छरपस्ट भयो ।

    जग्गा कब्जाको आरोप नेपाली कांग्रेसका नेता तथा नेपाल मेडिकल एशोसिएसनका पूर्वअध्यक्ष समेत रहेका डा. केदारनरसिंह केसीमाथि लागेको खुल्यो । यस विषयमा स्थानीयस्तरमा प्रश्न उठेर तारकेश्वर नगरपालिकाले मालपोत कार्यालयसँग सूचना मागेको र त्यसको जवाफ पनि टिपाइएको पाइएको छ । 

    मालपोत कार्यालय मनमैजुले लेखेको पत्रमा भनिएको छ, “उपरोक्त सम्बन्धमा ताहाँ कार्यालयको मिति २०८१–०४–१४ को पत्र प्राप्त भइ व्यहोरा अवगत भयो सो सम्बन्धमा का.जि. साबिक मनमैजु वडा नं. ९ सिट नं. १०२०९४४२३ कि.न.६२ क्षेत्रफल २१.६२ ब.मी. जग्गा ज.ध. केदार नरसिंह के.सी. का नाममा र कि.नं. ६३ क्षे.फ. २६३.६१ नेपाल सरकारका नाममा यस कार्यालयको मोठ श्रेस्तामा जनिएको ब्यहोरा जानकारीका लागि अनुरोध छ ।” 

    गत साउन १६ गते नै मालपोत कार्यालयले विवरण खुलाएर पठाए पनि नगरपालिकाले निकास ननिकालेको पाइएको छ । नेपाली काँग्रेसका नेता तथा चिकितसक संघका पूर्व अध्यक्ष डा. केसीले भने आफूले सरकारी जग्गा नमिचेको दाबी गरे । उनले आफूले २०४९ सालमा जग्गा किनेको र आफ्नो जग्गासँगै रहेको जग्गा सडक भनेर सेस्तामा जनाइएको बताए । उनले आफूसँग सबै कागजपत्र प्रमाण भएकोले देखाउन तयार रहेको बताए ।


    प्रतिक्रिया दिनुहोस