काठमाडौँ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाई करोडौं असुल्ने गिरोहसँग साँठगाँठ गरेको आरोप लागेका एमाले सचिव (हाल निलम्बित) टोपबहादुर रायमाझी र नेपाल सरकारका पूर्वसचिव टेकनारायण पाण्डे यतिबेला केन्द्रीय कारागार (जगन्नाथ देवल) सुन्धारामा छन् ।
आफूसँगै सोही अभियोग लागेर पक्राउ परेका पूर्व गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँण धरौटीमा छुटेर बाहिर बसेर मुद्दाको पुर्पक्ष गरिरहेका बेला रायमाझी र पाण्डेले भने त्यो अवसर पाएनन् । उनीहरुले जेल बाहिर बसेर मुद्दा लड्न पाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा निवेदन पनि दिए । रायमाझीले जेल बाहिर बसेर मुद्दा लड्ने अबसर पाएनन् भने पूर्वसचिव पाण्डेले दिएको निवेदनमा सर्वोच्चले कागज मगाउने आदेश गरेको छ ।
मुद्दाको सुनुवाइ नभएर लामो समय जेलमा बस्दा एमाले नेता रायमाझीले दिग्दारी व्यक्त गर्ने गरेको उनलाई भेट्न कारागार पुगेका एक माओवादी नेताले बताए । उनको एक मात्रै गुनासो छ- 'एउटा फोटोकै कारण आफूलाई फसाइयो, मैले पैसा लिएर जेलमै राख्न पर्ने अपराध गरेको छैन ।' मुद्दाको सुनुवाइ पनि नहुने र जेलमा राख्ने काम मात्रै काम भएको उनले भेट्न आउनेसँग गुनासो पोख्ने गरेका छन् ।
जेलमा रहेका धेरै कैदीबन्दीले ‘मन्त्रीज्यू’ भनेर सम्बोधन गर्दा टोपबहादुरलाई ‘खिसीट्युरी’ गरेको भान हुन गरेको त्यहाँ पुगेका एक कर्मचारीले बताए । जेलमा रायमाझीलाई परिवारका सदस्य र एमाले तथा माओवादीका केही नेता भेट्न पुग्छन् । पोस्टेट, उच्च रक्तचाप र मुटुसम्बन्धी समस्याबाट पीडित रायमाझी थकित र गलित देखिएको भेट्न गएकाहरुको भनाई छ ।
२०८० असार १ गते जिल्ला अदालत काठमाडौंले रायमाझीसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।