काठमाडौँ । प्रत्येक वर्षको फागुपूर्णिका दिन र भोलिपल्ट ठःबही अर्थात ठमेलमा ऐतिहासिक चकँ द्यः जात्रा मनाउने चलन छ। ठमेलमा रहेको कमलपोखरीमा फागुपूर्णिमाका दिन त्यहाँको विहारमा भएको भगवान चकँ द्यःलाई झिकेर दक्षिणतर्फको चोकमा विराजमान गराइन्छ। ‘
विभिन्न परम्परागत पूजा तथा जात्रा मनाएर भोलिपल्ट विहारको पूर्वतिर हाल कमलपोखरी अतिक्रमण गरी बनाइएको विवादित छायादेवी कम्प्लेक्सको गेटतिरको डबलीसहितको चोकमा विराजमान गराइन्छ,’ सम्पदाप्रेमी एवं कमलपोखरी पुस्तकका लेखक भागवत प्रधान भन्छन्, ‘परापूर्वकालदेखिको परम्परगत पूजाआजा गरी बाजागाजासहित चकँ द्यःलाई सहर परिक्रमा गराउने परम्परा छ।’ तर, ठमेलमा रहेको छायादेवी कम्प्लेक्सले जात्रा आयोजना हुने चोक हडपेपछि जात्रा संकटमा परेको छ।
कम्प्लेक्ससँगै रहेको डबलीसहितको चोक हाल व्यक्तिको नाममा दर्ता भएको छ। जसले गर्दा जात्रा मनाउन समस्या परेको प्रधान बताउँछन्। प्रधान भन्छन्, ‘विगतमा जात्राका बेला विभिन्न नाच देखाइन्थ्यो। तर, पैसा र शक्तिको आडमा ऐतिहासिक जात्रा मनाउने चोक नै हडपियो। सयौं वर्षदेखि जात्रा मनाउँदै आएको जग्गालाई भूमाफियाले अम्बिका राणाको नाममा दर्ता गराएका छन्।
अहिले जात्रा मनाउन दिए पनि पछि जात्रा मनाउन रोकिने अवस्था छ।’ उनले सार्वजनिक जग्गालाई मोही बनाउन मिल्ने कुनै आधार नभएको बताउँछन्। उनले भने, ‘परम्परागत जात्रा हालसम्म पनि कायमै छ। कानुनअनुसार जात्रा पर्वलाई हडप्न पाइँदैन। पोखरी र डिललाई मोही कायम गर्न मिल्दैन। छाया कम्प्लेक्सले ऐतिहासिकको पोखरी मासिएको छ।’ उनले ठमेलको ऐतिहासिक पोखरी हडपेर बनाइएको छाया कम्प्लेक्स पुरानै अवस्थामा फर्काउनुपर्ने बताए। उनले भने, ‘श्री ३ महाराज चन्द्रशमसेरको रोलवाला जनरल केशरशमसेर के प्रधानको मोही हुन सक्छन् ?’ ऐतिहासिक जात्रालाई मास्न नपाउने स्थानीयहरुले पनि माग गर्दै आएका छन्।
डिल्लीबजार मालपोत कार्यालयको नापी शाखामा रहेको २०३३ सालको फिल्डबुकमा कित्ता नम्बर १६७ को पोखरी र कित्ता नम्बर १०४० को सार्वजनिक चोक उल्लेख छ। तर, केशरशमशेर राणाकी बुहारी अम्बिका राणाले २०३९ सालदेखि नै मोही दर्ता गरी आफ्नो नाममा सो सार्वजनिक जग्गा पारेको देखिन्छ।
भूमिसुधार तथा व्यवस्थापन विभाग मालपोत कार्यालय डिल्लीबजारमा हाल कित्ता न.१६७ को १२ रोपनी १३ आना जग्गा सरकारको नाममा छ भने कित्ता न.१०४० को ९ आना २.३ पैसा जग्गा अम्बिका राणाको नाममा छ। २०४१ सालमा अम्बिका राणाको श्रीमान्को शेषपछि २०४२ सालमा उनले गुठी लगतमा गरेको निवेदन पत्रमा ‘पोखरी जग्गा भन्ने नाउँको जग्गा’ उल्लेख छ। यो पत्रको आधारमा राणाले पोखरी नभएको स्पष्ट गराउन चाहेको देखिन्छ। तर, उनका श्रीमान् केयुरशमशेरले भने धरौटी राखेको विषयलाई लिएर भगवानवहाल गुठीलाई लेखेर पठाएको पत्रमा ‘मेरो क्याम्पाभित्र पर्न आएको श्री भगवान बहाल गुठीको पोखरी’ भनी उल्लेख गरेका छन्। गुठीयारहरुले सर्वोच्च अदालतमा निवेदन दिए पनि कमलपोखरी र डिलसमेत गरी साढे २६ रोपनी जग्गामा हाल १५ तले छायादेवी कम्लेक्स भवन ठडिएको छ।