काठमाडौँ । पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतको ‘काठमाडौं स्कुल अफ ल’ (केएसएल) का संस्थापक युवराज संग्रौलामाथि विद्यार्थीहरूबाटै दुर्व्यवहारको आरोप लागेको छ।
पूर्वमहान्यायाधिवक्ता समेत रहेका संग्रौलाले कलेजमा छात्राहरुसँग यौनजन्य टिप्पणी र महिलाको शरीरबारे अपमानजनक शब्द प्रयोग गर्ने गरेको एक विद्यार्थीले सामाजिक सञ्जाल इन्स्टाग्राममा सार्वजनिक गरेकी छन्। उनको पोस्टमा अरूं विद्यार्थीले पनि कमेन्ट र सेयर गर्दै दुर्व्यवहारबारे उल्लेख गरेका छन्।
ती विद्यार्थीहरूले संग्रौलाको बोल्ने शैली, धम्की दिने गरेको र अन्य यौनजन्य दुर्व्यवहार गर्ने गरेको आरोप लगाएका छन्। विद्यार्थीहरूले कलेजका अन्य प्राध्यापकहरुले समेत विद्यार्थीलाई दुर्व्यवहार गर्ने जिकिर गरेकी छन् । उनले पहिले आफूलाई यसबारे निवेदन दिन भनिएअनुसार १२ डिसेम्बर २०२४ मा उजुरी दिए पनि कुनै सुनुवाइ नभएपछि सामाजिक सञ्जालमा पोस्ट गर्नुपरेको पनि भनेकी छन्।
विद्यार्थीले कलेजमा दिएको निवेदनमा कार्यकारी निर्देशक संग्रौलालाई तत्काल निलम्बन गरेर छानबिन गर्नुपर्ने सहितका ५ बुँदे माग राखेकी छन्।
यसबारे कलेज प्रशासनले बुधबार एक विज्ञप्तिसमेत जारी गरेको छ। विज्ञप्तिमा आन्तरिक उजुरी तथा गुनासो समितिमा निवेदन पेस हुने वित्तिकै त्यसलाई जानकारीमा लिएर आवश्यक जाँचबुझ प्रक्रिया अघि बढाउने निर्णय गरेको बताइएको छ। वार्षिक परीक्षा आउन लागेका निवेदक समेतको हितलाई ध्यानमा राखेर छानबिन रोकिएको समेत विज्ञप्तिमा उल्लेख छ ।
‘निवेदनमा कलेजका पदाधिकारी एवं शिक्षकहरुलाई समेत इंगित गरिएको सन्दर्भमा आन्तरिक रुपमा बुझबुझारथ गर्ने कार्य सम्पन्न भई निवेदनसँग दाबी गरिएको विषयसँग सम्बन्धित थप विवरण भए संकलन गर्ने निर्णय भएकोमा…एकेडेमी इन्चार्जबाट अहिले विश्वविद्यालयको वार्षिक परीक्षा सन्निकट रहेको र यतिबेला निवेदनलाई आमन्त्रण गरी छलफल गर्दा यसको नकरात्मक प्रभाव निवेदकको परीक्षामा समेत पर्ने सम्भावना देखिएकाले निवेदनकको उच्चतम हित र भलाइलाई मध्यनजर गरी वार्षिक परीक्षाको समापनपछि छलफलको लागि बोलाउन उपयुक्त हुने सल्लाहअनुसार निवेदकलाई परीक्षापछि आमन्त्रण गर्ने निर्णय भएको हो’, आन्तरिक उजुरी तथा गुनासो समितिकी सदस्यसचिव लक्ष्मी सापकोटाले हस्ताक्षर गरेको विज्ञप्तिमा छ।