काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले जग्गा कब्जा गरेको आरोप लगाएपछि नेपाली काँग्रेसका नेता डा. केदारनरसिंह केसीले उक्त आरोप पुष्टि गर्न चुनौति दिएका छन् ।
शनिबार पत्रकार सम्मेलन गर्दै उनले आफूबिरुद्ध सरकारी जग्गा कब्जा गरेको भन्ने आरोपको खण्डन गर्दै प्रमाणित गर्न चुनौति दिएका हुन् ।
फागुन २८ गतेको प्रतिनिधिसभा बैठकमा रास्वपा सांसदद्वय शिशिर खनाल र सुमना श्रेष्ठले तारकेश्वर नगरपालिका–९ मनमैजुको सरकारी जग्गा काँग्रेस नेताले कब्जा गरेको भनि आरोप लगाएका थिए ।
सोही दिन नै उक्त आरोपको संसद्मा खण्डण गर्ने र ससद्बाट हटाउने मागसमेत उठेको थियो । तर सभामुख देवराज घिमिरेले हटाउन नमिल्ने बताएका थिए ।
त्यसपछि डा. केसीले शनिबार पत्रकार सम्मेलन गर्दै आधार र प्रमाणबिना रास्वपा सांसदहरूले वदनीयतपूर्ण तरिकाले आञ्छना लगाएको बताएका छन् ।
यदि प्रमाणित गर्न नसके आफूले कानुनी उपचार खोज्ने उनको चेतावनी छ । केसीले सार्वजनिक जग्गा र आफ्नो जग्गा फरक–फरक रहेको पनि बताए । ‘साविक मनमैजु गाविस वडा नं ९ हाल तारकेश्वर नगरपालिका वडा नं १० लोकतान्त्रिक चोकमा रहेको कित्ता नं ६१ र ६२ मेरो तथा मेरो परिवारका नाममा र कित्ता नं ६३ सार्वजनिक जग्गा हो, मलाई सरकारी जग्गा एक कित्ता पनि चाँहिदैन’, उनले भने ।