धनगढी । धनगढी उपमहानगरपालिका-६ मटियारीमा ग्यास सिलिन्डर विस्फोट हुँदा तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार, मिना खड्काको घरमा सिलिन्डर जडान गर्ने क्रममा विस्फोट भएको हो ।
घटनामा ३६ वर्षीया मिना खड्का, उनका २० वर्षीया छोरी चन्द्रा खड्का र ४० वर्षीय स्थानीय ग्यास व्यापारी गोविन्द जोशी घाइते भएका छन् । उनीहरूको हाल निसर्ग अस्पतालमा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको चिकित्सकहरूले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कविन्द्र बोहराका अनुसार, खड्काले जोशीको पसलबाट ग्यास ल्याएको र सिलिन्डर जडान गर्न जोशीलाई घरमै बोलाएकी थिइन् । सिलिन्डर जडान गर्ने क्रममा एक्कासी विस्फोट भएको बताइएको छ । यस घटनाबारे थप अनुसन्धान भइरहेको छ ।