काठमाडौँ । दीपक मरिक डोमको परिवार विस्थापित भएको छ । गाउँपालिका अध्यक्षका आफन्तसहित समर्थकको धाक धम्की गालीगलोजबाट रातिदेखि दीपक मरिक डोमसहित उनको परिवार विस्थापित भएको हो ।
विष्णु महायज्ञको नाममा गत फागुन १० गते औरही गाउँपालिका ५ स्थित रहेको दीपकको घर डोजर लगाएर भत्काएको थियो । घटना सार्वजनिक भएपछि त्यसमा संलग्न गाउँपालिका अध्यक्ष शिवजी यादव र वडा नम्बर ५ का वडाध्यक्ष दिलीप यादवलाई प्रहरीले शुक्रबार साँझ पक्राउ गरेको हो ।
पालिका अध्यक्ष पक्राउ परेपछि तिमीहरूकै कारणले मेरो बुबा पक्राउ परेको भन्दै पालिका अध्यक्ष शिवजी यादवका छोरासहित केही स्थानीयहरू राति दीपकको घरमा पुगेर गालीगलौज तथा धम्की दिएका थिए । त्यसपछि त्रासको कारण दीपक र अनिता राति नै वडा नम्बर ४ कमलपुरमा रहेको दलित आयोगका पूर्व सदस्य कबुली पासवानको घरमा शरण लिएका छन् ।
उनका छोराछोरीहरू राति औरही चौकीमा शरण लिएका छन् । ‘साँझ पालिका अध्यक्ष शिवजी यादव पक्राउ परेपछि उहाँका छोरा रुकेशले केही महिलाहरूसहित आएर धाक धम्की र गालीगलौज गरे । मेरी श्रीमती अनितालाई हिँड्न दबाब दिए । असुरक्षित महसुस भएपछि अनिता कवुलीकाकाको घरमा आइन् । म पनि यतै बसेको छु’,उनले भने, ‘मेरो बालबच्चा औरही प्रहरी चौकीमा राति बिताए ।’