काठमाडौँ । शुक्रबार काठमाडौँको तीनकुनेमा भएको राजावादी प्रदर्शनका क्रममा घाइते भएका १२८ जनामध्ये १६ जनाको विभिन्न अस्पतालमा उपचार जारी छ ।
बाँकी ११२ जना डिस्चार्ज भएका छन् । प्रहरीका अनुसार नेपाल प्रहरीतर्फ घाइते भएका ५५ जनामध्ये ५० जना डिस्चार्ज भएका छन् । ५ जनाको नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै, सशस्त्र प्रहरीका २२ जना घाइते भएका थिए। एक जना हाल उपचाररत छन् भने २१ जना डिस्चार्ज भएका छन् ।
प्रदर्शनकारीतर्फ ५१ जना घाइते भएका प्रहरीले जनाएको छ। घाइतेमध्ये ३५ जना डिस्चार्ज भएका छन् भने १६ जना उपचाररत छन् ।
केएमसीमा अस्पतालमा ६ जना, ट्रमा सेन्टरमा २ जना र सिभिल अस्पतालमा ३ जना, बी एन्ड बी मा चार र पाटन अस्पतालमा एकजनाको उपाचार भइरहेको हो ।
प्रहरीले शनिबार थप ६ जना गरी १११ जना प्रदर्शनकारीलाई पक्राउ गरेको छ । प्रदर्शनका क्रममा व्यक्तिगत र सरकारी कार्यलय गरी १८ स्थानमा तोडफोड भएको, १२ स्थानमा आगलागी भएको तथा एक ठाउँमा तोडफोडसहित लुटपाट भएको प्रहरीले जनाएको छ ।
सवारीसाधन तर्फ प्रहरीका ६ वटा, सरकारी कार्यालयको ४ वटा, नखुलेका ६ वटा, तथा ४ वटा मोटरसाइकल र २ वटा स्कुटर गरी २२ वटामा आगजनी गरिएको प्रहरीले उल्लेख गरेको छ । सो घटनामा परी दुई जनाको ज्यान गएको थियो ।