बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • नेपाल राष्ट्र बैंकमा कसलाई गभर्नर बनाउन परिवर्तन गरियो मापदण्ड ?


    हुलाक प्रेस

    • मंगलबार, चैत १९ २०८१०८:५९
    नेपाल राष्ट्र बैंकमा कसलाई गभर्नर बनाउन परिवर्तन गरियो मापदण्ड ?

    काठमाडौँ । नेपाल राष्ट्र बैंक आगामी गभर्नरमा खास व्यक्तिलाई नियुक्ति दिन योग्यता सम्बन्धी मापदण्ड नै संशोधन गरिएको छ।

    नेपाल राष्ट्र बैंकका गभर्नर नियुक्तिको मुखैमा सरकारले योग्यता सम्बन्धी मापदण्ड नै फेरबदल गरेको छ। स्वार्थ समूहले गभर्नर नियुक्तिमा प्रभाव पार्न खोजेको चर्चाबीच अर्थ मन्त्रालयले गभर्नरका लागि यसअघि तोकिएको उमेर हदलाई खारेज गरेको हो। अहिले आएर विद्यमान कानूनी व्यवस्था नै बदलिनुले खास व्यक्तिलाई गभर्नर बनाउन खोजिएको आशंकालाई बल पुगेको छ।

    ‘अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी र सदस्यको नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड २०७३’ को दोस्रो संशोधन मार्फत उमेरको अधिकतम र न्यूनतम हद सम्बन्धी व्यवस्था नै हटाइएको छ। योसँगै ६५ वर्ष नाघेका व्यक्ति पनि राष्ट्र बैंकको गभर्नर हुने बाटो खुला भएको छ।

    nrb 3.jpg

    यसअघि मापदण्डको दफा ३ को नियुक्तिका लागि योग्यता अन्तर्गत उपदफा ‘ग’ मा उमेर सम्बन्धी व्यवस्था तोक्दै मन्त्रालय अन्तर्गतका सार्वजनिक निकायमा कार्यकारी प्रमुख नियुक्तिका लागि कम्तीमा ३० वर्ष उमेर पुगेको र अधिकतम ६५ वर्ष पूरा नभएको हुनुपर्ने प्रावधान राखिएको थियो। हालै गरिएको संशोधनमा त्यो बुँदा नै हटाइएको छ। मापदण्डको संशोधनलाई नेपाल सरकारले गत फागुन २७ मा स्वीकृत गरेको हो।

    यसले गभर्नरमा ६५ वर्ष उमेर हद पूरा गरेका व्यक्तिलाई अघि सार्न मापदण्ड नै फेरबदल गरेको प्रस्ट देखाउँछ। गभर्नर महाप्रसाद अधिकारीको पदावधि यो साता सकिंदै छ।

    सरकारले नयाँ गभर्नर नियुक्तिका लागि अर्थमन्त्री विष्णुप्रसाद पौडेलेको संयोजकत्वमा पूर्व गभर्नर विजयनाथ भट्टराई र अर्थशास्त्री डा. विश्व पौडेल सदस्य रहेको सिफारिश समिति गठन गरिसकेको छ। समितिले तीन जना सम्भावित गभर्नरको नाम सरकारलाई सिफारिश गर्नेछ। तीनमध्ये एक जनालाई मन्त्रिपरिषद्ले गभर्नर नियुक्त गर्नेछ।


    प्रतिक्रिया दिनुहोस