बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • रविलाई थुनामा पठाउने उच्च अदालतको आदेश


    हुलाक प्रेस

    • शुक्रबार, चैत २२ २०८१०७:३८
    रविलाई थुनामा पठाउने उच्च अदालतको आदेश

    काठमाडौं । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रास्वपा सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश गरेको छ ।

    जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै उच्च अदालतले थुनामा पठाउने आदेश गरेको हो ।

    यसअघि जिल्ला अदालतले रविलाई एक करोड धरौटीमा रिहा गर्ने आदेश गरेको थियो । उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधिश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले जिल्लाको आदेश बदर गर्दै थुनामा पठाउने आदेश गरेको हो । 

    अदालतले पूर्व डीआईजी छविलाल जोशीलाई थुनामा पठाउने जिल्लाको आदेश पनि सदर गरेको छ । जिल्ला अदालत रुपन्देहीले रविसँग एक करोड धरौटी माग गर्ने र छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । 

    त्यसविरुद्ध परेका निवेदनमा बिहीबारदेखि नै सुनुवाइ सुरु भएपनि बहस नसकिएपछि शुक्रबारलाई हेर्दाहेर्दैमा राखिएको थियो । शुक्रबार साँझ अदालतले यस्तो आदेश गरेको हो । 

    यसअघि रूपन्देही जिल्ला अदालतले रविलाई १ करोड धरौटीमा छाडेको थियो । सुप्रिम सहकारी ठगी प्रकरणमा गत माघ १३ गते रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रहृलादकुमार योगीको इजलासले रविलाई एक करोड धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

    छविलाई थुनामा राखे पनि उस्तै कसुरदार रविलाई धरौटीमा छाडिएको भन्दै सरकारी वकिल कार्यालयले रविलाई पनि थुनामा पठाउन माग गर्दै उच्च अदालतमा निवेदन दिएको थियो । उच्च अदालतले सरकारी वकिलकोक माग बमोजिमको आदेश गरेको हो । 

    यस्तै रवि एक करोड धरौटी बढी भएको भन्दै साधारण तारेखमा राख्न माग गर्दै उच्चमा निवेदन दिएका थिए । सुप्रिम सहकारीमा रवि, छवि र जीबी राईसहित ४२ जनालाई प्रतिवादी बनाइएको छ । 

    उनीहरुले सहकारीको ५५ करोड रुपैयाँभन्दा बढी रकम अपचलन गरेको अभियोग छ । रवि, छवि र जीबीले यसमध्ये १० करोड ९९ लाख ३६ हजार रकम छुट्टै अपचलन गरेको अभियोगमा उल्लेख छ। जीबी राई भने फरार छन् ।


    प्रतिक्रिया दिनुहोस