काठमाडौं । नेपाल बार एसोसिएसनको २७औँ केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि मतदान सम्पन्न भएको छ । बिहीबार बिहान ८ बजेदेखि सुरु भएको मतदान अपराह्न ४ बजे सम्पन्न भएको हो ।
प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाका अनुसार उपत्यकामा ४ हजार ६ सय ४३ मत खसेको छ भने उपत्यका बाहिर ३ हजार ३ सय ५२ मत खसेको छ । नौ हजार नौ सय ५७ मतदाता रहेको निर्वाचनमा २५ जना पदका निम्ति ५७ जनाको उम्मेदवारी रहेका छन् ।
नयाँ नेतृत्वका लागि अध्यक्षमा बृहत् लोकतान्त्रिक, प्रगतिशली, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता प्रा डा विजयप्रसाद मिश्र र व्यावसायिक कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठ प्रतिस्पर्धामा छन् ।
त्यस्तै, महासचिवमा प्रा.डा. मिश्रको समूहबाट वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला र श्रेष्ठको समूहबाट अधिवक्ता यज्ञमणि न्यौपाने चुनावी मैदानमा छन् ।